२१ जेठ २०८३, बिहीबार

बाढी पहिरोको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

असोज १६, २०८१
काठमाडौं
बाढी पहिरोको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति
फाइल तस्वीर

केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढी पहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैन भने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) र एनसेल आजिअटा लिमिटेड (एनसेल)को मात्र करिब रु २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

'एनटीसीको करिब रु १५ करोड र एनसेलको करिब रु सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरूबाट विवरण सङ्कलन भइसकेकोमा यस्ता कम्पनीहरूको करिब रु साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ,' प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले भने । इन्टरनेट सेवा प्रदायकहरूबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको पनि उनले बताए ।

बाढीपहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो ।

विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा. पौड्यालको भनाइ छ । 

पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा शुरू गर्न कम्पनीहरूलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए ।

टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्