
लुम्बिनी प्रदेशमा साउनयता विपदजन्य घटनामा परेर ९५ जनाको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् । यस्तै, १० जना बेपत्ता भएको लुम्बनी प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको साढे दुई महिनामा विपदजन्य घटनाको राहत र पुर्नस्थापना शीर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ ।
प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा प्रदेश सरकारले राहत र पुर्नस्थापनाका लागि रकम उपलब्ध गराउँदै आएको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।
साउन, भदौ र असोजको १३ गतेसम्मको विवरणअनुसार राहततर्फ ३४ लाख ७५ हजार र पुर्नस्थापनातर्फ ५ लाख २५ हजार रुपैयाँ गरी ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ । राहततर्फ सबैभन्दा धेरै दाङमा २३ लाख ३५ हजार, रोल्पामा ३ लाख ८० हजार, बर्दियामा २ लाख, रुपन्देहीमा १ लाख ३० हजार, कपिलवस्तुमा ३० हजार रुपैयाँ राहतस्वरुप वितरण गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
यस्तै, पुनर्निर्माणका लागि प्युठानमा ५ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । बाढी, पहिरो, आगलागी, चट्याङ्लगायत विपदमा परेकाहरूलाई प्रहरीको मुचुल्का र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा आन्तरिक मामिला मन्त्रालयले राहत र पुर्नस्थापनाका लागि रकम उपलब्ध गराउँदै आएको हो ।
यस्तै, पुनस्र्थापनाका लागि २ करोड ५५ लाख ४५ हजार रुपैयाँ वितरण गरिएको आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए ।
हालसम्मका विपदका घटनाले गर्दा ५ करोड ११ लाख ९५ हजार ५०० रुपैयाँ क्षति भएको छ । व्यक्तिगत घरतर्फ पूर्ण क्षति भएका ७५ र आंशिक क्षति भएका २९१ छन् ।