२१ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

रवि लामिछाने अनुसन्धानको दायरामा आउने, माओवादीको विद्यार्थी संगठन नेतृत्व चयन गर्न असफल

असोज १७, २०८१
काठमाडौं
रवि लामिछाने अनुसन्धानको दायरामा आउने, माओवादीको विद्यार्थी संगठन नेतृत्व चयन गर्न असफल

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सहकारी ठगी प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेपाल प्रहरीको अनुसन्धानको दायरामा आउने भएका छन् ।  
सहकारीमा जम्मा भएको बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको बयानका आधारमा लामिछानेलाई अनुसन्धानको दायरामा ल्याउने प्रहरीले तयारी गरेको हो । 

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका जोशीले सरकारी वकिलको कार्यालयमा बयान दिँदा सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा ल्याउने विषय गीतेन्द्रबाबु (जीबी) राई र लामिछानेलाई नै थाहा भएको उल्लेख गरेका छन् । गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले नै सहकारीको रकम ल्याउन राईलाई सुझाएको बयान जोशीले दिएका छन् । 

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले भने सहकारी ठगीमा आफ्नो संलग्नताबारे इन्कार गरिरहेका छन् । तर, उनकै ‘पार्टनर’ जोशीले राई र लामिछानेकै योजनामा गोरखा मिडियामा सहकारीको रकम भित्र्याएर अपचलन भएको बयान दिएका हुन् ।
००००
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो । यस्तै अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ ।
००००
उदयपुरमा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई चढेको गाडीमाथि आक्रमण गर्ने ६ जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगरबाट गएको प्रहरीको विशेष टोलीले उनीहरूलाई उदयपुरबाट बुधवार पक्राउ गरेको हो ।  

मंगलवार राति उदयपुरमा राज्यमन्त्री राईसहितको टोलीमाथि आक्रमण भएको थियो । राई उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी थिइन् ।
००००
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका छन् । 
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार, संवैधानिक प्रक्रिया पूरागरी प्रदेशसभा बैठकको अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत प्रकाश चापागाईंले जानकारी दिए । यस्तै कर्णालीको अधिवेशन पनि अन्त्य भएको छ । 
००००
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ । 

सम्मेलनमा उमेरहद, विधान र प्रतिवेदनसहितमा विवाद भएपछि सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको स्रोतले जनाएको छ । तर अखिल क्रान्तिकारीको अध्यक्षमण्डलले भने छलफल, निर्वाचनको प्रक्रिया, दशैं र बाढीपहिरोका कारण सम्मेलन स्थगित गर्नुपरेको दाबी गरेको छ । 
००००
काठमाडौं जिल्ला अदालतले युवायुवतीलाई यातना दिने ‘सुगर ड्याडी’ नामले परिचित आशिष देउलासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधवार अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने मुद्दामा देउलासहितका ४ जनालाई थुनामा पठाउन आदेश दिएको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ ।

बुधबार नेप्से परिसूचक २६.०७ अङ्कले घटेर २५९७.४९ को विन्दुमा अडिएको हो ।
००००
हवाई चाप बढेसँगै घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान हुने भएको छ ।

बाढी पहिरो तथा चाडपर्वका कारण बढ्दो हवाई चापलाई सम्बोधन गर्दै बिहीबार (घटस्थापना)देखि पूर्णिमासम्म रात्रिकालीन उडानको अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
००००
चालु आर्थिक वर्ष २०८१–०८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ ।

विश्व बैंकले आज नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्