
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विपत्तिको समयमा पनि सरकार जनताको साथमा नरहेको आरोप लगाएका छन् । बाढी पहिरोको विपत्तिबाट २ सय भन्दाबढी नागरिकले ज्यान गुमाएको र अझै दर्जनौं बेपत्ता रहेको अवस्थामा सरकारले प्रभावकारी ढंगले काम नगरेको उनको आरोप छ ।
बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा साहले अहिले मुलुकमा सरकार नै नभएको आभाष भएको बताए । उनले देशमा नागरिक मर्दा विदेश सयर गर्ने, स्वदेश फर्किएपछि विपत्तिलाई मजाक गरेर उडाउने र बालुवाटारको खोपीमा मात्रै बस्ने प्रधानमन्त्री जनतालाई नचाहिएको बताए ।
उनले भने, ‘देशमा अहिले सरकार छैन । नागरिकले यत्रो विपत्ति सामना गर्नुपरेको छ । सयौंको संख्यामा नागरिकले ज्यान गुमाएको अवस्था छ, तर प्रधानमन्त्री र मन्त्रीहरु कहीँकतै देखिनुभएन । पीडितहरुले सरकार सरकार भनेर गुहारेको अवस्था छ । तर, सरकारका कोहीपनि मन्त्रीहरु मैले प्रभावित क्षेत्र र पीडितहरुको घरमा पुगेको देखिनँ । यो सरकार खासगरी प्रधानमन्त्री ओलीसँग मानवीय समवेदना भन्ने चिज रहनेछ । उहाँ एकदमै निर्दयी देखिनुभयो ।'