
आफैँले पेटमा खुकुरी हान्दा धनकुटाको महालक्ष्मी नगरपालिकाका एक व्यक्तिको आन्द्रा बाहिर निस्केको थियो । ती बिरामीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल उपचार भएसँगै पुनर्जीवन पाएका छन् ।
गत २०८१ भाद्र २९ गते राति करिब १० बजेतिर आत्महत्या गर्ने उद्देश्यले ३० वर्षीय उनले पेटमा खुकुरी प्रहार गरेका थिए । उक्त घटना छिमेकीले थाहा पाएसँगै सुरक्षाकर्मीको रोहवरमा गम्भीर अवस्थामा सुरुमा उनलाई एम्बुलेन्सबाट धनकुटा जिल्ला अस्पतालमा लगियो भने त्यहाँबाट उनलाई प्रतिष्ठानमा रेफर गरिएको थियो ।
भदौ ३० गते बिहान ८ बजेतिर प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उनी आन्द्रा बाहिर निक्लिएको अवस्थामा आइपुगेको प्रतिष्ठानका प्रवक्ता डा अभिजित कुमारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘निजको आफन्त कोही पनि उपस्थित नरहेकाले प्रहरीसँग समन्वय गरी प्रतिष्ठानको जेनेरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन विभाग, जेनेरल सर्जरी विभाग तथा एनेस्थेसियोलोजी एन्ड क्रिटिकल केयर विभागको टिमले बिरामीको उपचार सुरु गर्यो’, उनको विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको रगत निकै बगिसकेकोले निजको अवस्था एकदमै नाजुक रहेको थियो । तर बिरामीको अभिभावक कोही पनि नभएकाले प्राथमिक उपचारका साथै अप्रेसनका लागि अति आवश्यक पर्ने जाँच परीक्षण, रगतको व्यवस्था, औषधी एवम् अप्रेशनमा चाहिने सामाग्रीको व्यवस्था गर्न कठिनाई भएकोले अस्पताल प्रशासनसँग समन्वय गरी अप्रेसन मिति २०८१ भाद्र ३१ गते गरियो।’
अप्रेसनको क्रममा पेटमा जमेको रगत निकाली कुहिएको आन्द्रा काटी बाँकी आन्द्रा जोडिएको चिकित्सकहरूले जनाएका छन् । अप्रेसनमा करिब ४ घण्टाको समय लागेको बताइएको छ । अप्रेसनको १६ दिनपछि बिरामीलाई निको बनाएर डिस्चार्ज गरिएको उनले बताए ।
बिरामीको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लागेको सबै खर्च छुट गरिएको प्रतिष्ठानले जनाएको छ ।