
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले हालैको बाढीपहिरो तथा डुबान प्रभावितलाई सरकारले उपलब्ध गराएको तीन लाख रकमसहित अन्य सामग्री वितरण गरेकी छन् ।
पहिरोमा पुरिएर घरभित्रै ज्यान गुमाएका मृतकका आफन्तलाई सङ्घीय विपद् व्यवस्थापन कोष र प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध रकमसहित राहत सामग्री लिएर उनी आफैं पहिरोपीडितको बासस्थान पुगेकी हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेकी प्रजिअ श्रेष्ठले सूर्यविनायक नगरपालिका–८ स्थित आशापुरी नैचालमा पहिरोमा परेर मृत्यु भएकी प्रतिमा तामाङको परिवारलाई तीन लाख र मृतक सुकुमाया तामाङका श्रीमान् तथा छोराहरूलाई तीन लाख नगद हस्तान्तरण गरेकी हुन् ।
यही असोज १२ गतेकै पहिरोमा परेर कालीकोट घर भई सूर्यविनायक –९ पलाखे बस्ने मृतक दमिला शाही र निजको छोरी प्रिया बमको परिवारलाई तीन लाख रकम गणेश बमको बैंक खातामा जम्मा गरिदिएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।
त्यस्तै, पहिरोमा परेर घाइते भएका सानु तामाङ र कान्छा तामाङको भक्तपुर अस्पतालमा निःशुल्क उपचार गरी उनीहरूलाई राहतस्वरुप १५ हजार रकम उपलब्ध गराएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।
मृतकको परिवारलाई प्रजिअ श्रेष्ठले तत्काल वासस्थानका निर्माणका लागि दुईवटा टेन्ट र तीनवटा त्रिपाल तथा २ सेट भाँडाकुँडा समेत हस्तान्तरण गरिन् ।
त्यसैगरी, सूर्यविनायक नगरपालिकाले पनि सोही पहिरोमा परी ज्यान गुमाउने पाँचजनाकै परिवारलाई १ लाखको दरले राहत रकम प्रदान गरेको छ ।
नगर प्रमुख वासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता भट्टराईसहित गएका जनप्रतिनिधिको टोलीले पीडितका बासस्थानमै पुगेर तामाङ परिवारलाई जनही एक लाखको दरले रकम हस्तान्तरण गरेको हो ।
विस्थापितलाई टेन्ट र भाँडाकुँडा वितरण गरिएको थियो । जिल्लामा ४० घर अझै पहिरोको उच्च जोखिममा रहेको जनाउँदै सात घरपरिवारलाई अन्यत्रै सारिएको प्रजिअ श्रेष्ठले जानकारी दिए ।