२५ असार २०८३, बिहीबार

किन कमजोर बन्दैछन् नेपालीका हाड ? यसो भन्छन् डाक्टर भण्डारी

असोज २४, २०८१
काठमाडौं
किन कमजोर बन्दैछन् नेपालीका हाड ? यसो भन्छन् डाक्टर भण्डारी

“हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भर्‍याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् । न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै । कसरी बलियो होस् त हड्डी ?”

पाकापुरानाहरूबाट यस्तै यस्तै सुन्न पाइन्छ अहिले । उनीहरू उहिले र अहिलेको खानपान, रहनसहन, उठबस, कामविशेष तथा बानी व्यहोराको तुलना गर्ने गर्छन । पाकाहरूको भोगाइमा अहिलेको पुस्ताको शारीरिक तन्दुरुस्ती पहिलेजस्तो छैन । ‘टेबल वर्क’ धेरै छ तर शारीरिक अभ्यास न्यून । हिँडाइ त झन् छँदैछैन, एक किलोमिटरलाई पनि गाडी चढ्छन् । त्यसैले यो पुस्ताको स्वास्थ्य पनि बलियो छैन ।

घाँसका भारीसित लड्दा होस् या रुखबाट भूइँमा खस्दा समेत हातखुट्टा नभाँचिने अनुभव उनीहरू सुनाउँछन् । घाँस दाउरा र लेकबेँसी धेरै हुने र हिँड्ने बाटो पनि खेतबारीका कान्लाबाट उक्लिने र ओर्लिने खालको हुने, त्यसैले शारीरिक अभ्यास प्रशस्तमात्रामा पुग्ने उनीहरूको अनुभव छ । अनि खानपानका अनुभव पनि निकै रोचक । एउटा लैनौ भैंसीको घिउ र दूध एक्लैले खाने रे । त्यसकारण हड्डी बलियो बन्ने र सानातिना चोटले केही असर नगर्ने उनीहरूको अनुभव छ ।  

नेपालका हाडजोर्नीसम्बन्धी विशेषज्ञ चिकित्सक कैलाश भण्डारी पाकापुस्ताका यी अनुभवप्रति सहमत छन् । के नेपालीका हाड पाकापुस्ताहरूका यस्तै अनुभवजस्तै कमजोर हुँदै गएका हुन् ? डा. भण्डारी केही हदसम्म कारण यिनै हुन् भन्छन् । 'अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका छन्, एउटै हात या खुट्टा पटकपटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन् ।  उहाँहरू सामान्य रूपमा लडेको मात्र बताउनुहुन्छ ।'

'खानपान त उही हो, धेरैको जङ्कफुड (बजारमा पाइने तयारी खाना) नै हुन्छ र शारीरिक अभ्यास छैन । खाना बनाउन, शारीरिक अभ्यास गर्न या हिँड्नै पनि मानिस चाहँदैन, सौखिन बन्दै गएको छ । उसको ‘टेबल वर्क’ बढी छ अनि शारीरिक सक्रियता कम । तर, उही खानेकुरामा पनि पहिले र अहिले पाउने प्रोटिन या अन्य खनिजहरूको प्रचुरता फरक पर्दै गएको छ । शुद्धतामा ह्रास आइरहेको छ,' डा भण्डारीले भने ।


उही खानेकुरामा पनि पहिले र अहिले पाइने प्रोटिनको शुद्धतामा किन फरक ? यसको कारण विषादीको प्रयोग, माटोमा प्रयोग गरिने आधुनिक अर्थात् रासायनिक मल आदि हो । यसले खानामा पाइने प्रोटिनको शुद्धतामा फरक पर्दै गएको उनको तर्क छ । त्यसैगरी ‘आउटडोर एक्टिभिटीज’ कम हुँदै जाँदा आवश्यक शारीरिक अभ्यास नपाएर तथा हड्डी खुम्चिएर रहने या जाम हुने अवस्था समेत देखिएको डा. भण्डारीले बताए ।

अहिलेका बालबालिकालाई घरमै होस् या विद्यालयमा खेल्ने खेलमैदानको उपलब्धता नै नभएको उनले बताए ।

उनका अनुसार अल्छी तथा सौखिन दिनचर्या, हाडलाई आवश्यक पर्ने भिटामिन ‘डी’ को उपलब्धताको कमी र सूर्यको किरणको पहुँचबाट टाढा रहेको मानिसको दैनिकी पनि हाड कमजोर बन्दै जानुका अरु केही कारण हुन् ।

हाम्रो शरीरमा भिटामिन डीको मात्रा विश्वस्वास्थ्य सङ्गठनले तोकेको मात्राभन्दा कम रहेको उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्