
गएराति गोरखाको च्याङ्लीमा खुकुरी प्रहार गरी एक महिलाको वीभत्स हत्या भएको छ ।
बुधबार मध्यराति १२ बजेतिर पालुङटार नगरपालिका– ७ पुर्नेपिपलस्थित घरभित्रै खुकरी प्रहार गरी २८ वर्षीया रश्मी कुमालको हत्या भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै डुम्रेस्थित लक्ष्मी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि राति २ बजे दमौली अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
घटनास्थलमा अस्थायी प्रहरी पोस्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।
मोबाइलमा एसएमएस चेक गर्दा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको, तर उनी राति नै फरार भइसकेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार रश्मीका श्रीमान विदेशमा छन् । रश्मी आफ्नो ७ वर्षीय छोरासँग बस्दै आएकी थिइन् ।
एसपी पाठकले लोकान्तरसँग भने,‘ खुकुरी प्रहार गरी हत्या गरेको देखिन्छ, हामीले केही सशंकित व्यक्तिको पहिचान गरी खोजी गरिरहेका छौं, थप अनुसन्धान हुँदैछ ।’