
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल दशैँको घटस्थापना शुरू भएदेखि काठमाडौंका केही मन्दिरमा बिहानैदेखि जाने गरेका छन् । उनको रोजाइमा कालिकास्थानको मन्दिर र नक्सालमा रहेको भगवती मन्दिर पर्ने गरेको छ । यो क्रम महाअष्टमीका दिनसम्म चल्ने गर्छ ।
सामान्यतया घटस्थापनामा जमरा राखेदेखि वडादशैँ शुरू हुने गर्छ । यससँगै दशैँका लागि देश–विदेशमा रहेका परिवारका सदस्य घर फर्किँने गर्छन् । शहरमा रहेकाहरू गाउँ फर्कने गर्दछन् । यसैकारण कमलेशलाई घटनास्थापनादेखि नै मन्दिर जान मन लाग्छ ।
बिहानै मन्दिरमा परिक्रमा गर्दा पुरानो नेपालको सम्झना आउने गरेको कमलेश बताउँछन् । यसबीच आदिकवि भानुभक्त आचार्यकाे कविता ‘अलकापुरी कान्तिपुरी नगरी’को एक लाइन उनले सुनाएः
‘चपला अवलाहरू एक सुरमा
गुनकेसरीको फूल ली शिरमा
हिँड्न्या सखी लिकन ओरिपरि
अमरावती कान्तिपुरी नगरी ।’
अग्रवालहरू शुद्ध शाकाहारी हुन् । त्यसैले उनको समुदायमा मिठाईलाई विशेष प्राथमिकता दिने गरिन्छ । कुनै पनि शुभ मुहुर्त वा साइतमा मिठाई अगाडि राखिन्छ । सुगरले गर्दा मिठाई खान नमिल्नेहरूले समेत थोरै भएपनि स्वाद लिने गरेका छन् ।
‘अहिले सुगरले गर्दा धेरैजसोलाई मिठाई खान नमिल्ने अवस्था पनि होला,’ उनी भन्छन्, ‘यसका बीच पनि थोरै खाने गरिन्छ ।’ पछिल्लो समयमा मिठाईको साइज घट्नै गरेको उनलाई लाग्छ । ‘मिठाईको साइज बिस्तारै सानो हुँदै पनि गएको छ । जुन हाम्रो समयमा निकै ठूला हुने गर्दथे,’ उनले थपे ।
कमलेश सानो हुँदा एक महिनाअघि आकाशमा चङ्गा उडेको देखेर दशैँ आउन लागेको थाहा हुने गथ्र्यो । अहिले त्यो हराएको उनले अनुभव गरेका छन् । ‘पहिले–पहिले एक महिनाअघिदेखि नै आकाशमा चङ्गा उडेको देखेर दशैँ आउन लागेको थाहा हुने गथ्र्यो । अहिले त्यो हराएको छ,’ उनी भन्छन् ।
अहिले धनसम्पत्ति कमाएकालाई पनि पहिला दशैँमा चङ्गा उडाउँदाको जस्तो खुसी नमिल्ने कमलेश बताउँछन् । आफ्नो चङ्गाले अरुकोलाई काट्दा बढी खुसी मिल्ने गरेको उनले सुनाए ।
‘दशैँमा अरुको चङ्गा काट्दा मलाई सबैभन्दा धेरै खुसी मिल्थ्यो । जुन अहिले जतिसुकै धन सम्पत्ति कमाए पनि मिल्दैन । त्यसको कुरा छुट्टै थियो । सयौँ चङ्गाबीच आफ्नोलाई जोगाएर अरुको काट्ने गरिन्थ्यो । त्यसलाई हामी चङ्गा लुट्ने भन्थ्यौँ । अहिले त्यो कता हरायो कता !’, आश्चर्य प्रकट गर्दै उनले भने ।
यस वर्षको दशैँलगत्तै कमलेश आफ्नो परिवारसहित विदेश घुम्न जाने योजनामा छन् । वर्षमा एकपटक विदेशमा परिवारसँग घुम्न उनी अरुलाई पनि सुझाव दिन्छन् । दशैँ–तिहार कामको चिन्तालाई छोडेर परिवारसँग रमाउने समय रहेको उनको बुझाइ छ ।
सन् २००० भन्दाअघिको दशैँ सम्झँदा
सन् २०० भन्दाअघि दशैँ आउनुभन्दा महिनादिनअघि नै थाहा हुने र चहलपहल पनि बढ्ने गरेको कमलेश सम्झिन्छन् । त्यो बेलाको दशैँको भूमिका र महत्व व्याख्या गर्न नसकिने उनी बताउँछन् ।
‘दशैँ आयो, खाउँला-पिउँला र रमाउला भन्ने मात्रै हुने गर्दथ्यो’, उनी भन्छन्, ‘अहिले खुवाउनुपर्ने कयौँ जिम्मेवारी पनि छन् । त्यसले गर्दा बाल्यकालको सम्झना मात्रै आउँछ । त्यो पल, त्यो समय अहिलेको भन्दा निकै महत्वपूर्ण थियो ।’
पहिले दशैँको दिनमा दिने आशीर्वाद धेरै लामो हुने गरेको कमलेशको अनुभव छ । जुन अहिले उनले आफ्ना नाति–नातिनालाई दिँदा छोटिएको महशुस गर्छन् ।
‘हजरआमा र आमाले त्यो बेला दिएको आशीर्वाद निकै लामो हुने गर्थ्यो । अहिले त्यति लामो छैन । धेरै छोटिएको छ,’ उनले भने, ‘हुन त आशीर्वाद भनेको लामो–छोटो हुँदैन । तर पनि त्यो लामो आशीर्वादको महत्व बेग्लै थियो ।’
बाल्यकालमा दुई रुपैयाँसम्म दक्षिणा पाएको कमलेशलाई याद छ । ‘त्यतिबेला उक्त दुई रुपैयाँले पूरै बजार घुमेर आउँदासम्म पुग्ने गर्दथ्र्यो,’ उनले सम्झिए ।