
खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार ललितपुरको गोदावरी नगरपालिकाका नल्लु, बासुकी र देवकी खानेपानी मुहान क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले पन्ध्र दिनभित्र सबै काम पूरा गरेर खानेपानी सेवा सञ्चालन गर्नेगरी तीन दिनभित्र काम सुरु गर्ने बताए ।
“आज हामीले खानेपानी मुहान क्षेत्रको जानकारी लियौँ । वन विभागका महानिर्देशक, केयुकेलका प्रमुख र हाम्रो मन्त्रालयका प्राविधिक समूहसँगै हामी खानेपानी मुहानमा पुग्यौँ । उहाँहरूले लागतसहितको प्रतिवेदन तयार गर्नुहुन्छ । प्रतिवेदन आएपछि तुरुन्तै काम सुरु गछौँ,” मन्त्री यादवले भने ।
बाढीबाट खानेपानी मुहानको क्षतिबारे जानकारी लिन मन्त्री यादवसहित, पूर्वअर्थराज्यमन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), वन विभाग तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरू नल्लु पुगेका थिए ।
मन्त्री यादवले सरकार स्थानीय बासिन्दाको समस्याप्रति सरकार संवेदनशील रहेको स्पष्ट पार्दै भविष्यमा यस्ता विपद्हरू दोहोरिन नदिन दिगो पूर्वाधार र दीर्घकालीन योजनाको खाँचो रहेको बताए ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नल्लु र बासुकी क्षेत्रको पानी १५ दिनभित्र ल्याउन सकिने अवस्था भएकाले बजेट नपुग भएको खण्डमा नगरपालिकाबाटै भए पनि व्यवस्था गर्ने बताए ।