
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र व्यापारीले भवन पनि बनाइदिने विषय बाहिर आएपछि ओलीविरुद्ध आयोगमा उजुरी परेको हो ।
सिन्धुलीका युवराज पौडेल (सफल)ले आज आयोगमा ओलीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा भ्रष्टाचार निवारण ऐन, २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाहीको माग गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ (संशोधन सहित)ले दान, दातव्य, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको भन्दै उजुरीमा देशकै प्रधानमन्त्रीले कानुन उल्लङ्घन गरेको उजुरीमा उल्लेख छ ।
भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेको केन्द्रीय कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय चर्चामा छ ।