२२ असार २०८३, सोमबार

बझाङको खप्तडछान्नामा सञ्चार सेवा अवरुद्ध

कात्तिक १, २०८१
बझाङ
बझाङको खप्तडछान्नामा सञ्चार सेवा अवरुद्ध

​​गत हप्तादेखि बझाङको खप्तडछान्ना गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेको छ ।

गत असोज २३ गते खप्तडछान्ना गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि गाउँपालिका सम्पर्कविहीन बनेको हो ।

सञ्चार सम्पर्कविहीन भएपछि गाउँबाहिरका आफन्तसँग दशैंको रमाइलो साट्न नपाएको खप्तडछान्ना गाउँपालिका–७ का प्रदीप खड्काले बताए ।

खप्तडछान्ना गाउँपालिकास्थित गोर्खाली गाउँमा दशैंको दिन मेलासमेत आयोजना गरिएको थियो ।

उनले भने, 'अष्टमीको दिनदेखि टेलिफोनको नेटवर्कले काम गर्न छाडेपछि मेलामा समेत प्रभाव परेको छ । अहिले सिङ्गो गाउँपालिकामा नै नेटवर्क विहीन बनेको छ ।'​

स्थानीयवासी वसन्त चौहानले गत असोज २३ गते बेलुकी अज्ञात समूहले खप्तडछान्ना –४ माझीगाउँस्थित नेपाल टेलिकमको टावरमा तोडफोड गरेको बताए ।

माझी गाउँमा रहेको रिमोट टावरसँगै खप्तडछान्ना –७ माडुकाट्नेको टावर पनि तोडफोड भएको नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले जानकारी दिए ।

दुई टावरबीचको रेडियो लिङ्कले काम गर्न छोडेपछि यहाँका २० हजार बढी नागरिक सम्पर्कविहीन भएका उनले बताए । अहिले यी दुईवटै टावर मर्मतको काम भइरहेको उनले बताए ।

जिल्लामा दक्ष जनशक्ति अभाव र सबै उपकरण नयाँ राख्नुपर्ने भएकाले समय लाग्ने प्रमुख सिंहले बताए । 

यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रमा रहेका टावरमा तोडफोड र चोरीका हुने गरेको बताइएको छ । टावरमा तोडफोड गर्नेको अहिले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले बताए ।

टावर जङ्गलमा रहेको हुँदा घटनाको वास्तविकता पत्ता लगाउन कठिनाइ भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्