२८ जेठ २०८३, बिहीबार

रूसले युक्रेनविरुद्ध १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दैछ ?

कात्तिक १, २०८१
काठमाडौं
रूसले युक्रेनविरुद्ध १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दैछ ?

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार खुफिया जानकारीलाई उद्धृत गर्दै रुसले किएभविरुद्धको लडाइँमा १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्न तयारी गरिरहेको दाबी गरेका छन् । 

उनले यसअघि पनि उत्तर कोरियालाई रुसी सेनामा सैनिक पठाएको आरोप लगाएका थिए ।  

जेलेन्स्कीले ‘हाम्रो खुफिया निकायबाट प्राप्त जानकारी’ का आधारमा अनिर्दिष्ट सङ्ख्यामा उत्तर कोरियाली सैनिक यसअघि नै ‘रुसी शत्रुहरूको तर्फबाट कब्जा गरिएको युक्रेनी भूमिमा’ थिए भने । 

“उत्तर कोरियाका करिब १० हजार सैनिकलाई हामीविरुद्ध लड्न पठाउन तयारी गरिरहेको हामीलाई थाहा छ”, उनले युरोपेली सङ्घ (इयु) का नेताहरूसँगको वार्तापछि ब्रसेल्समा पत्रकारहरूलाई भने । 

जेलेन्स्की रुस विरुद्धको युद्ध अन्त्य गर्ने आफ्नो ‘विजय योजना’ का लागि समर्थन माग्दै ब्रसेल्समा इयुका नेताहरूको शिखर सम्मेलन र नाटो रक्षामन्त्रीहरूको बैठक दुवैमा सहभागी भएका थिए । 

उनका अनुसार उत्तर कोरियाली सैनिकहरूमा ‘स्थल सेना’ र ‘अन्य रणनीतिक कर्मचारीहरू’ समावेश छन् ।

“यो विश्वयुद्धको पहिलो कदम हो”, उनले भने । इरानले पनि रुसलाई ‘ड्रोन र क्षेप्यास्त्रहरू’ सहयोग गरिरहेको उनले आरोप लगाए । । तर उक्त दाबीलाई तेहरानले बारम्बार अस्वीकार गर्दै आएको छ । 

परिचालनसँग डराउने भएकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली सैनिकहरूमा भर परिरहेकाे उनको दाबी थियो । 

रुसी सेनाले युक्रेनमा उत्तर कोरियाली क्षेप्यास्त्रहरू तैनाथ गरिरहेको विशेषज्ञहरूले लामो समयदेखि भन्दै आएका छन् तर मस्को र प्योङयाङले अस्वीकार गरेका छन् । 

पुटिनले जुनमा प्योङयाङको दुर्लभ भ्रमण गर्दा उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक  रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । 

मस्को र प्योङयाङ दोस्रो विश्वयुद्धपछि उत्तर कोरियाको स्थापनादेखि नै एकअर्काको सहयोगी रहेका छन्  । 

salt training

कमेन्ट गर्नुहोस्