३० असार २०८३, मंगलबार
मारिए याह्या सिनवार

हमासका अर्का प्रभावशाली नेताको मृत्यु, अब कता जाला इजरायल-प्यालेस्टाइन द्वन्द्व ?

कात्तिक २, २०८१
काठमाडौं
हमासका अर्का प्रभावशाली नेताको मृत्यु, अब कता जाला इजरायल-प्यालेस्टाइन द्वन्द्व ?
Getty Image Via BBC

गाजा क्षेत्रमा गरिएको आक्रमणका क्रममा हमासका अर्का प्रभावशाली नेता याह्या सिनवारको मृत्यु भएको घोषणा इजरायलले गरेको छ ।

सिनवार गत सालको अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणको मुख्य योजनाकार रहेको दाबी इजरायलले गर्दै आएको थियो ।

सो आक्रमणमा १२ सयभन्दा बढी इजरायलीको ज्यान गएको थियो भने हमासले सयौंको अपहरण  गरेको थियो, जसमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि एक थिए ।

याह्या सिनवार १९६२ मा गाजामा जन्मिएका थिए । उनले प्रारम्भिक शिक्षा स्थानीय विद्यालयहरूबाट प्राप्त गरे र पछि इस्लामिक विश्वविद्यालय गाजामा समाजशास्त्र अध्ययन गरे । उनी युवावस्थादेखि नै इजरायलविरुद्ध क्रियाशील भएका थिए ।

उनलाई इजरायली सेनाले पटक–पटक पक्राउ गरेको थियो । उनलाई हमासको भविष्यको नेताका रूपमा हेरिन थालेको थियो ।

सिनवार १९८८ मा पहिलोपटक इजरायली कारागारमा थुनिएका थिए ।

उनलाई इजरायलका सहयोगी रहेका चारजना प्यालेस्टाइनीको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

इजरायली जेलमा हुँदा पनि उनले हमास गठनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

हमासले आफ्नो स्थापनाकालदेखि नै इजरायलसँगको सशस्त्र संघर्षलाई मुख्य रणनीति बनाएको थियो ।

सन् २०११ मा उनलाई गिलाड शालिट नामक एक इजरायली सैनिकसँग गरिएको कैदी आदान–प्रदान अन्तर्गत इजरायलले रिहा गरिदिएको थियो ।

सो सम्झौतामा उनीसँगै १ हजार २७ प्यालेस्टाइनी कैदी रिहा गरिएको थियो । रिहाइपछि सिनवार हमासको उच्च नेतृत्वमा प्रवेश गरे र संगठनलाई थप सशक्त बनाउँदै लगे ।

सिनवारलाई हमासको सबैभन्दा कठोर र जुझारु नेताका रूपमा चिनिन्थ्यो । उनले इजरायलविरुद्ध मिसाइल आक्रमणदेखि सुरुङ मार्गहरू निर्माण गरेर इजरायली भूमिमा घुसपैठ गर्नेसम्मका योजनाहरूमा सक्रिय भूमिका खेलेका थिए ।

इजरायली सेनाले सिनवारलाई मारिएको पुष्टि गर्दै उनी ७ अक्टोबरको हमास आक्रमणको प्रमुख योजनाकार रहेको दाबी गरेको छ ।

हमासले सो दिन इजरायलमा ठूलो आक्रमण गरेको थियो, जसमा हजारौं रकेट प्रहार र इजरायली सैनिक र नागरिकमाथि सशस्त्र आक्रमण गरिएको थियो ।

केही विश्लेषकहरूले सिनवारको मृत्युपछि हमासले अझ आक्रामक रूपमा इजरायलविरुद्ध आक्रमण गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।

यता इजरायली बन्धकका परिवारले अब कुनै सम्झौता हुने र बन्धकहरूको रिहाइ हुने आशा व्यक्त गरेका छन् ।  

इजरायलसँगको संघर्षका क्रममा हमासका थुप्रै उच्च नेताहरू मारिएका छन् । इजरायली सेनाले हमासलाई कमजोर बनाउन शीर्ष नेतृत्वलाई सखाप पार्ने रणनीति अपनाउँदै आएको छ, जसलाई इजरायलको 'टार्गेटेड किलिंग' नीतिका रूपमा चिनिन्छ ।

गत जुलाई ३१ तारिखमा इजरायलको आक्रमणमा परी हमासका शीर्ष नेता इस्माइल हनिएह मारिएका थिए ।

हमासका शीर्ष नेताहरूमध्ये इजरायलले सन् २००४ मा शेख अहमद यासिन, अब्देल अजीज अल-रन्तिसीको हत्या भएको थियो ।

२००२ मा सालेह शेहादे, २००३ मा इस्माइल अबू शनाब, २०१२ मा अहमद जबारी, २००९ मा निझार रियान, २०१७ मा माजेन फुकाहा लगायतका हमास नेताहरूलाई इजरायलले हत्या गरेको छ ।

इजरायलको हातबाट हमासका धेरै नेताहरू मारिएको भएपनि हमासले बारम्बार नयाँ नेताहरूलाई अगाडि ल्याउने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्