
‘कानून र न्याय’ भन्दा कोही माथि हुँदैन भन्ने सन्देश रवि लामिछाने पक्राउ परेको घटनाले थप पुष्टि गरेको छ ।
यसअघि निवर्तमान गृहमन्त्री हुँदा बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको थियो ।
नेपाली कांग्रेसका नेता खाँणले राजनीतिक पूरै शक्ति लगाए पनि उनको गिरफ्तारीलाई पार्टीले रोक्न सकेन । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी पक्राउ परेका थिए ।
आज रविको नियति ठीक त्यस्तै बन्यो । पार्टी राजनीतिमा आएसँगै चुनाव जितेर सरकारमा जाने बित्तिकै गृहमन्त्री बनेका लामिछानेका लागि प्रतिउत्पादक बन्यो । नागरिकता प्रकरणमा उनले मुद्दाको सामना गरे ।
पुनः चितवनबाटै चुनाव जितेर उपप्रधान एवं गृहमन्त्रीसहित सरकारमा गए ।
राजनीतिक शक्ति सन्तुलन बिग्रिएसँगै नयाँ समीकरण बन्यो । उनी प्रतिपक्षी कित्तामा पुगे । प्रतिपक्षी कित्तामा उनको दल रास्वपासँगै तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू हुँदाहुँदै पनि रविविरुद्ध पक्राउ पुर्जी जारी सम्भव बन्यो र उनी पक्राउ परे ।
सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । रविले सहकारी ठगीमा आफू निर्दोष रहेको दाबी गरिरहेका छन् ।
तर उनकै पार्टनर छबिलाल जोशी बञ्जाडे ठगी र संगठित अपराध मुद्दा झेलिरहेका बेला उनको गिरफ्तारी थप सहज बन्य पुग्यो ।
पूर्व डीआइजी समेत रहेका छवि रविसँगै जोडिएको मुद्दामा पक्राउ पर्ने र रवि बाहिर बसेर सत्तासँग पौंठजोरी खोजिरहने प्रवृत्ति वर्तमान सरकारलाई पचेन । त्यसपछि उनको गिरफ्तारीका लागि सहज बन्न पुग्यो ।
यसअघि खाँण आफ्नै पार्टीमा बलियो प्रतिनिधि मात्रै थिएनन्, पार्टी सभापति शेरबहादुर देउवालाई साइजमा राख्न सक्ने नेताभित्र गनिन्थे । उनी अहिले गुमनाम झैं छन् ।
अब रविले कास्की प्रहरीलाई अनुसन्धानमा कति सहयोग गर्छन्, उनको कार्यशैलीले बताउने छ ।
खाँणका लागि काठमाडौं प्रहरीले डीएसपी बस्ने कोठालाई नै हिरासत कक्ष बनाइदिएको थियो । रविका लागि त्यो कति सहज होला, हेर्न बाँकी छ ।