
असोजको अन्तिम साता स्याङ्जाका सुन्तला व्यवसायी चित्रबहादुर पराजुलीको घर पुग्दा उनी बाँदर धपाउन व्यस्त थिए । हस्याङफस्याङ गरेर आँगन छेउ आइपुग्दै साउती मारे, ‘बाँदरको समस्या छ । किसानले गरेर खाने वातावरण नै बनेन । यसलाई राज्यले कसरी सम्बोधन गर्छ ?’
सुन्तलाको लागि चिनिएको स्याङ्जाको करेनडाँडामा पराजुलीको पुर्खादेखिकै सुन्तला खेती छ । बाबाले बनाएको सुन्तलाबारीलाई बढाएर उनले ठुलो बनाएका छन् । गत वर्ष सुन्तलाबाट पराजुलीले १२ लाख बढी आम्दानी गरेका थिए । करेनडाँडाबाट गतवर्ष सुन्तलाबाट धेरै आम्दानी गर्ने उनै हुन् ।
पराजुलीले सानैदेखि बाबा सुन्तलाबारीमा काम गरेको देख्थे । सुन्तलाको नर्सरी देख्दा उनलाई उत्सुकता लाग्थ्यो । ४५ भन्दा बढी भयो उनको घर आँगनमा सुन्तला फुल्न थालेको । ९ वर्षको छँदादेखि उनले पनि सुन्तलाबारीमा रूचि देखाएका हुन् । बीचमा भने उनी जागिरे भए । १८ वर्ष नेपाल आर्मीमा प्राविधिक हवल्दारको रूपमा जागिरे भएर अवकाश पाएपछि चित्रबहादुरले पुनः बाबाको व्यवसायलाई सम्हालेका हुन् । ‘प्रकृतिले दिएको देन परापूर्वकालदेखि सुन्तला लगाउने ठाउँ उर्वर भएको हुनाले यसलाई निरन्तरता दिएँ,’ उनले भने ।
नेपाल आर्मीबाट अवकाश भइसकेपछि उनीसँग आम्दानीको बाटोका लागि अन्य बाटो पनि थिए । वैदेशिक रोजगारीको बाटो खुल्ला रहे पनि उनले सुन्तला व्यवसायमा हात हाल्ने सोच बनाए । ‘यसलाई मैले निरन्तरता नदिने हो भने यो बिग्रने अवस्था थियो । विदेशमा योभन्दा धेरै कमाइन्थ्यो । म फर्केर आउँदा सुन्तला हुन्थेन । त्योभन्दा यो ठिक लाग्छ । छोराछोरीको मायाभन्दा सुन्तलाको माया बढी छ,’ हाँस्दै उनले सुनाए ।
उनले व्यवसायमा हात हाल्नुअघि उनको बारीमा ६ सय हाराहारीमा सुन्तलाको रुख थियो । त्यसलाई बढाएर उनले ४५ सय पुर्याएका छन् । सुन्तलाको बोटसँगै सानो नर्सरी पनि छ उनको ।
सुन्तलाको रुख बढे पनि उत्पादन भने उनले सोचेअनुरूप भइरहेको छैन । बाँदरको समस्या भोग्ने उनीमात्र होइन देशका अधिकांश किसानले भोगिरहेको समस्या हो । योबाहेक सुन्तला व्यवसायीले जलवायु परिवर्तनको प्रत्यक्ष असर पनि भोगिरहेका छन् । ‘तीन वर्ष अघि पानी पर्यो सुन्तला सबै झर्यो । त्यतिबेला आधी टिपेर छोडेको थियो । डेढ लाख घाटा भयो,’ उनले भने ।

तापक्रममा भएको अदलाबदलीको कारण फलमा असर परिरहेको उनको भनाइ छ । साथै सुन्तलामा लाग्ने रोगले पनि किसान मारमा परेका छन् । जसमध्ये औँसा एक प्रमुख चिन्ताको विषय हो । ‘औँसा आउँछ । त्यसले झर्छ । त्यसको न्यूनीकरणको लागि के गर्ने राज्यले भन्दैन । पतेरो लाग्छ, यसलाई कुन औषधि हाल्ने हो राज्यले भन्दैन । राज्य किसानमुखी होइन पैसामुखी भएको छ । जहाँ अनुदान रकम हात पार्न सकिन्छ त्यहाँ जान्छ,’ उनले गुनासो पोखे ।
पाउनुपर्ने किसानले अनुदान नपाएको उनको भनाइ छ । किसानलाई सरकारले व्यवास्ता गरेको पराजुलीले गुनासो गरे पनि सुन्तला खेती लक्षित गरेर सरकारले कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७३/२०७४ मा सरकारले प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाअन्तर्गत स्याङ्जालाई सुन्तला सुपर जोन घोषणा गरेको थियो ।
१० वर्षे परियोजनाले जिल्लामा सुन्तला खेती बढाउन भूमिका खेलिरहेको छ । कार्यक्रमअन्तर्गत नै पछिल्लो वर्षको तुलनामा सुन्तलाको व्यवसायीक खेती गर्ने किसान बढेका छन् । तर, जिल्लामा सुन्तला लगाउने बढे पनि उत्पादनमा ह्रास आएको छ ।
‘व्यवसायीक किसानहरू बढेका छन् । रोप्ने ट्रेन्ड छ । व्यवसायमा लाग्छन् । नंग्रा खियाउन पर्यो लगनशीलता कम छ । कृषिको ज्ञान छ, कसरी सार्न लगाउन पर्छ थाहा छ, कसरी प्रयोगमा ल्याउनुपर्छ थाहा छैन,’ उनले भने ।
जिल्लाको सुन्तलाले बाहिरी जिल्लामा बजार पाए पनि किसानले भने समस्या भोगिरहनुपरेको छ । शीतभण्डारमा सुन्तला राख्दा सुन्तला बिग्रेर किसानले घाटा व्यहोर्नु परेको उनको दुखेसो छ ।
२०७९ सालमा पराजुलीले पनि सुन्तला राखेका थिए । सुन्तलाको सिजन सकिएपछि बजारमा पुर्याउने भनेर ९४ क्यारेट सुन्तला राखे । राखेका सुन्तला बिग्रियो । घाटा व्योहोर्नुपर्यो । यी समस्याकै बीच पनि किसानहरूले आशा देखेका छन् ।
जिल्लाका सुन्तला पोखरा, बुटवल, काठमाडौं पुग्छन् । पराजुलीको सुन्तला सिधै काठमाडौं पुग्छ । बजार व्यवस्थापन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
स्याङ्जाको सुन्तला चीन निर्यात हुने भनी २०६६ सालदेखि सरकारले विषय निकालेको थियो । सोही वर्ष चीनको एनिमल एण्ड प्लान्ट डिभिजनले जिल्लाको सुन्तला बगैँचामा निरीक्षणसमेत गरेको थियो ।
तर, हालसम्म चीन निर्यात गर्ने योजना सफल भएको छैन । सुन्तलामा भएको औंसाका कारण चीनले हालसम्म सुन्तला निर्यात गर्न नमानेको हो । ‘मार्केट छ । नेपालको सुन्तला बाहिर जान पर्यो । त्यो हाम्रो कमजोरी होइन राज्यको कमजोरी हो,’ असुन्तष्टि जनाउँदै उनले थपे, ‘१० वर्ष भइसक्यो । चीनले आफ्नो देशमा यहाँको कीरा लगेर फैलाउन त चाहन्न ।’
औंसाको समस्या देखिने थालेको धेरै भइसक्यो । यसलाई न्यूनीकरण गर्न तदरूकता देखिँदैन । पहिलाको तुलनामा सुन्तलाको फल सानो भइरहेको छ । जिल्लामा अधिकांश किसानको आर्थिक आम्दानीको श्रोत सुन्तला खेती हो । तर, पछिल्लो समय बर्सेनि समस्यामा देखिन थालेको ।
‘पहिले सात/आठ दाना हालेपछि केजी पुग्थ्यो । अहिले कपुरको दानाजस्तो सानो भइसकेको छ । अल्टर फल्न थालेको छ । सेतो ढुसी आएछ । सुन्तलामा कालोपोतो हुँदैनथ्यो, अहिले हुन थालेछ । चिल्लो भएपो व्यापारी लाने खाँदा पनि हामीले राम्रो खाने हो,’ उनले सुनाए ।
समस्याकै बीच पनि उनले बर्सेनि आफ्नो बारीमा सुन्तलाको बोट बढाएका छन् । सुन्तलामा लाग्ने रोग न्यूनीकरणका लागि सरकारी तवरबाट खासै काम नभए पनि व्यक्तिगत रूपमा उनी लागिरहेका छन् ।
जान्ने बुझ्ने भएकाले उनले विदेशमा हुने कृषिलाई इन्टरनेन्टमा पछ्याउँछन् । सबै प्रविधि उपलब्ध नभए पनि उनले आफ्नो बारीमा न्यूनीकरण हुन सक्ने काम इन्टरनेटमा जाने व्यवहारमा उर्ताछन् ।