२८ जेठ २०८३, बिहीबार
कृषि कर्म

सुन्तलामा सुख खोजिरहेका आर्मीका रिटायर्ड हवल्दार

कात्तिक ३, २०८१
कास्की
सुन्तलामा सुख खोजिरहेका आर्मीका रिटायर्ड हवल्दार

असोजको अन्तिम साता स्याङ्जाका सुन्तला व्यवसायी चित्रबहादुर पराजुलीको घर पुग्दा उनी बाँदर धपाउन व्यस्त थिए । हस्याङफस्याङ गरेर आँगन छेउ आइपुग्दै साउती मारे, ‘बाँदरको समस्या छ । किसानले गरेर खाने वातावरण नै बनेन । यसलाई राज्यले कसरी सम्बोधन गर्छ ?’

सुन्तलाको लागि चिनिएको स्याङ्जाको करेनडाँडामा पराजुलीको पुर्खादेखिकै सुन्तला खेती छ । बाबाले बनाएको सुन्तलाबारीलाई बढाएर उनले ठुलो बनाएका छन् । गत वर्ष सुन्तलाबाट पराजुलीले १२ लाख बढी आम्दानी गरेका थिए । करेनडाँडाबाट गतवर्ष सुन्तलाबाट धेरै आम्दानी गर्ने उनै हुन् । 

पराजुलीले सानैदेखि बाबा सुन्तलाबारीमा काम गरेको देख्थे । सुन्तलाको नर्सरी देख्दा उनलाई उत्सुकता लाग्थ्यो । ४५ भन्दा बढी भयो उनको घर आँगनमा सुन्तला फुल्न थालेको । ९ वर्षको छँदादेखि उनले पनि सुन्तलाबारीमा रूचि देखाएका हुन् । बीचमा भने उनी जागिरे भए । १८ वर्ष नेपाल आर्मीमा प्राविधिक हवल्दारको रूपमा जागिरे भएर अवकाश पाएपछि चित्रबहादुरले पुनः बाबाको व्यवसायलाई सम्हालेका हुन् । ‘प्रकृतिले दिएको देन परापूर्वकालदेखि सुन्तला लगाउने ठाउँ उर्वर भएको हुनाले यसलाई निरन्तरता दिएँ,’ उनले भने ।

नेपाल आर्मीबाट अवकाश भइसकेपछि उनीसँग आम्दानीको बाटोका लागि अन्य बाटो पनि थिए । वैदेशिक रोजगारीको बाटो खुल्ला रहे पनि उनले सुन्तला व्यवसायमा हात हाल्ने सोच बनाए । ‘यसलाई मैले निरन्तरता नदिने हो भने यो बिग्रने अवस्था थियो । विदेशमा योभन्दा धेरै कमाइन्थ्यो । म फर्केर आउँदा सुन्तला हुन्थेन । त्योभन्दा यो ठिक लाग्छ । छोराछोरीको मायाभन्दा सुन्तलाको माया बढी छ,’ हाँस्दै उनले सुनाए ।

उनले व्यवसायमा हात हाल्नुअघि उनको बारीमा ६ सय हाराहारीमा सुन्तलाको रुख थियो । त्यसलाई बढाएर उनले ४५ सय पुर्याएका छन् । सुन्तलाको बोटसँगै सानो नर्सरी पनि छ उनको ।

सुन्तलाको रुख बढे पनि उत्पादन भने उनले सोचेअनुरूप भइरहेको छैन । बाँदरको समस्या भोग्ने उनीमात्र होइन देशका अधिकांश किसानले भोगिरहेको समस्या हो । योबाहेक सुन्तला व्यवसायीले जलवायु परिवर्तनको प्रत्यक्ष असर पनि भोगिरहेका छन् । ‘तीन वर्ष अघि पानी पर्‍यो सुन्तला सबै झर्‍यो । त्यतिबेला आधी टिपेर छोडेको थियो । डेढ लाख घाटा भयो,’ उनले भने । 

null

तापक्रममा भएको अदलाबदलीको कारण फलमा असर परिरहेको उनको भनाइ छ । साथै सुन्तलामा लाग्ने रोगले पनि किसान मारमा परेका छन् । जसमध्ये औँसा एक प्रमुख चिन्ताको विषय हो । ‘औँसा आउँछ । त्यसले झर्छ । त्यसको न्यूनीकरणको लागि के गर्ने राज्यले भन्दैन । पतेरो लाग्छ, यसलाई कुन औषधि हाल्ने हो राज्यले भन्दैन । राज्य किसानमुखी होइन पैसामुखी भएको छ । जहाँ अनुदान रकम हात पार्न सकिन्छ त्यहाँ जान्छ,’ उनले गुनासो पोखे । 

पाउनुपर्ने किसानले अनुदान नपाएको उनको भनाइ छ । किसानलाई सरकारले व्यवास्ता गरेको पराजुलीले गुनासो गरे पनि सुन्तला खेती लक्षित गरेर सरकारले कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७३/२०७४ मा सरकारले प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाअन्तर्गत स्याङ्जालाई सुन्तला सुपर जोन घोषणा गरेको थियो । 

१० वर्षे परियोजनाले जिल्लामा सुन्तला खेती बढाउन भूमिका खेलिरहेको छ । कार्यक्रमअन्तर्गत नै पछिल्लो वर्षको तुलनामा सुन्तलाको व्यवसायीक खेती गर्ने किसान बढेका छन् । तर, जिल्लामा सुन्तला लगाउने बढे पनि उत्पादनमा ह्रास आएको छ । 

‘व्यवसायीक किसानहरू बढेका छन् । रोप्ने ट्रेन्ड छ । व्यवसायमा लाग्छन् । नंग्रा खियाउन पर्‍यो लगनशीलता कम छ । कृषिको ज्ञान छ, कसरी सार्न लगाउन पर्छ थाहा छ, कसरी प्रयोगमा ल्याउनुपर्छ थाहा छैन,’ उनले भने । 

जिल्लाको सुन्तलाले बाहिरी जिल्लामा बजार पाए पनि किसानले भने समस्या भोगिरहनुपरेको छ । शीतभण्डारमा सुन्तला राख्दा सुन्तला बिग्रेर किसानले घाटा व्यहोर्नु परेको उनको दुखेसो छ । 

२०७९ सालमा पराजुलीले पनि सुन्तला राखेका थिए । सुन्तलाको सिजन सकिएपछि बजारमा पुर्‍याउने भनेर ९४ क्यारेट सुन्तला राखे । राखेका सुन्तला बिग्रियो । घाटा व्योहोर्नुपर्‍यो । यी समस्याकै बीच पनि किसानहरूले आशा देखेका छन् । 

जिल्लाका सुन्तला पोखरा, बुटवल, काठमाडौं पुग्छन् । पराजुलीको सुन्तला सिधै काठमाडौं पुग्छ । बजार व्यवस्थापन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

स्याङ्जाको सुन्तला चीन निर्यात हुने भनी २०६६ सालदेखि सरकारले विषय निकालेको थियो । सोही वर्ष चीनको एनिमल एण्ड प्लान्ट डिभिजनले जिल्लाको सुन्तला बगैँचामा निरीक्षणसमेत गरेको थियो । 

तर, हालसम्म चीन निर्यात गर्ने योजना सफल भएको छैन । सुन्तलामा भएको औंसाका कारण चीनले हालसम्म सुन्तला निर्यात गर्न नमानेको हो । ‘मार्केट छ । नेपालको सुन्तला बाहिर जान पर्‍यो । त्यो हाम्रो कमजोरी होइन राज्यको कमजोरी हो,’ असुन्तष्टि जनाउँदै उनले थपे, ‘१० वर्ष भइसक्यो । चीनले आफ्नो देशमा यहाँको कीरा लगेर फैलाउन त चाहन्न ।’ 

औंसाको समस्या देखिने थालेको धेरै भइसक्यो । यसलाई न्यूनीकरण गर्न तदरूकता देखिँदैन । पहिलाको तुलनामा सुन्तलाको फल सानो भइरहेको छ । जिल्लामा अधिकांश किसानको आर्थिक आम्दानीको श्रोत सुन्तला खेती हो । तर, पछिल्लो समय बर्सेनि समस्यामा देखिन थालेको । 

‘पहिले सात/आठ दाना हालेपछि केजी पुग्थ्यो । अहिले कपुरको दानाजस्तो सानो भइसकेको छ । अल्टर फल्न थालेको छ । सेतो ढुसी आएछ । सुन्तलामा कालोपोतो हुँदैनथ्यो, अहिले हुन थालेछ । चिल्लो भएपो व्यापारी लाने खाँदा पनि हामीले राम्रो खाने हो,’ उनले सुनाए । 

समस्याकै बीच पनि उनले बर्सेनि आफ्नो बारीमा सुन्तलाको बोट बढाएका छन् । सुन्तलामा लाग्ने रोग न्यूनीकरणका लागि सरकारी तवरबाट खासै काम नभए पनि व्यक्तिगत रूपमा उनी लागिरहेका छन् । 

जान्ने बुझ्ने भएकाले उनले विदेशमा हुने कृषिलाई इन्टरनेन्टमा पछ्याउँछन् । सबै प्रविधि उपलब्ध नभए पनि उनले आफ्नो बारीमा न्यूनीकरण हुन सक्ने काम इन्टरनेटमा जाने व्यवहारमा उर्ताछन् ।

salt training

कमेन्ट गर्नुहोस्