०७ साउन २०८३, बिहीबार

सुडानका ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

कात्तिक ३, २०८१
काठमाडौं
सुडानका ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

खार्तुम–संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ)ले शुक्रवार सुडानका ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा रहेको जनाएको छ । 

युनिसेफले पाँच वर्ष मुनिका ६ लाख बालबालिकासहित करिब ३० लाख मानिस हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्समार्फत जनाएको हो ।

युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।

द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पताल बन्द रहेको तथा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई  महिनौँदेखि तलब भुक्तानी नगरिएको युनिसेफले जनाएको छ ।  

आन्तरिक द्वन्द्व शुरू भएदेखि  हैजा, मलेरिया,  र डेङ्गु ज्वरोजस्ता महामारी रोगहरू फैलिदा सयौँको मृत्यु भएको छ ।

सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै  द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रँदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो ।  
 

कमेन्ट गर्नुहोस्