खार्तुम–संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ)ले शुक्रवार सुडानका ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा रहेको जनाएको छ ।
युनिसेफले पाँच वर्ष मुनिका ६ लाख बालबालिकासहित करिब ३० लाख मानिस हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्समार्फत जनाएको हो ।
युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।
द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पताल बन्द रहेको तथा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौँदेखि तलब भुक्तानी नगरिएको युनिसेफले जनाएको छ ।
आन्तरिक द्वन्द्व शुरू भएदेखि हैजा, मलेरिया, र डेङ्गु ज्वरोजस्ता महामारी रोगहरू फैलिदा सयौँको मृत्यु भएको छ ।
सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रँदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो ।