
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विस राजदूत डा डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मुख्यमन्त्रीको कार्यालय विराटनगरमा सोमबार भएको भेटमा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनालगायत द्विपक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए ।
स्विस सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूमा हालसम्म भएको प्रगति र आगामी सहकार्य, कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलन, कोशी प्रदेश लगानी सम्मेलन र कोशी भ्रमण वर्ष–२०८२ का विषयमा समेत छलफल भएको खनालले जानकारी दिए ।
भेटवार्तामा राजदूत मेउलीले कोशी प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न स्विस सरकार तयार रहेको र साझा हित तथा क्षेत्र मिल्ने परियोजनाहरूमा सहकार्य जारी रहने बताए ।