२१ असार २०८३, आइतबार

सुविधासँगै सुगम बन्दै गाउँ

कात्तिक ६, २०८१
म्याग्दी
सुविधासँगै सुगम बन्दै गाउँ

मालिका गाउँपालिका–३ पात्लेमा तीन वर्षअघि सडक विस्तार भएको थियो । करिब एक सय २० परिवारको बसोबास रहेको पात्ले गाउँमा हालै केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएपछि गाउँ सुगम बन्दै गएको छ । 

'काँधको छाला खुइलिने गरी पोल बोकेर १० वर्षअघि लद्यु जलविद्युत् परियोजना बनाएर दैनिकी सहज बनाउने उद्देश्यले बिजुली बालेका हौँ,' मालिका–३ लुम्पीपारका हेमबहादुर पुनले भने, 'केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि भनेको समयमा सस्तोमा बिजुली बाल्न पाएका छौँ ।'

मालिका–३ पात्लेमा सोमबार भएको विद्युतीकरण योजनाको उद्घाटन कार्यक्रममा सहभागी हेमबहादुरजस्तै अधिकांश गाउँलेहरूमा खुसी देखिन्थ्यो । 'टुकीको ढिपदिपे उज्यालोमा पढ्नुपर्ने अवस्थाको अन्त्य भएको छ,' शिक्षकसमेत रहेका पात्लेका भूमिराज रोकाले भने, 'सडक र विद्युत् सुविधासँगै कुनै समय जिल्लाकै दुर्गम मानिएको बस्ती पात्ले र लुप्सीपार अब सुगम भएका छन् ।' 

साँझ, बिहान घरायसी काम गर्न सहज हुनुका साथै उद्यम/व्यवसाय सञ्चालन गरेर आयआर्जनको अवसर पनि सिर्जना भएको पात्लेकी बालकुमारी रोकाले बताइन् ।  

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने कार्यक्रममार्फत भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका एक सय २० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्‍याएको हो। पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघु जलविद्युत् परियोजना, सौर्य उर्जा र टुकीमा निर्भर थिए । 

मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय लाइनका विद्युत् बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताए । 'हाम्रो वडामा रहेका तीन सय २५ मध्य सबै घरमा विद्युतीकरण भएको छ,' उनले भने, 'विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न तथा अन्य व्यवसायको अवसर सिर्जना भएको छ ।' 

योसँगै मालिका–३ को सबै बस्तीमा सडक सुविधा पुगेको वडाध्यक्ष बुढाले जानकारी दिनुए। विद्युत् र सडक सुविधा विस्तार भएपछि चालु आर्थिक वर्षमा ‘एक घर एक धारा’ सहितको खानेपानी आयोजना निर्माण गर्न लागिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्