२४ असार २०८३, बुधबार

कुनै समय माओवादीकै कारण विस्थापित भएका नवोनारायण माओवादीकै उम्मेदवार !

कात्तिक ६, २०८१
विराटनगर
कुनै समय माओवादीकै कारण विस्थापित भएका नवोनारायण माओवादीकै उम्मेदवार !

देशको राजनीति अहिले पोखरा केन्द्रित छ । सहकारी ठगी सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिएपछि सबैको ध्यान त्यतै मोडिएको हो । रास्वपाका नेताहरू पोखरामै छन् । उनीहरू दैनिक प्रदर्शन गरिरहेका छन् । 

तर, देशको माहौल पोखरातिर केन्द्रित रहेका बेला प्रमुख (प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) भने उप निर्वाचनमा जुटेको छ । मंसिर १६ गते हुने तय भएको उपनिर्वाचनका लागि माओवादीले मोरङको ग्रामथान गाउँपालिकामा उम्मेदवार छनोट गर्ने तयारी गरेको हो । 

सोमबार एक कार्यक्रमबीच माओवादीले नवो नारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । माझीलाई गत भदौ २९ गते माओवादीका अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गराएका थिए । उनी यस अगाडि कांग्रेसमा थिए  । 

जनयुद्धको समयमा उनी माओवादीकै कारण लखेटिएका थिए । २०४५ सालमा नेविसंघमार्फत् उनले आफ्नो राजनीतिलाई अगाडि बढाएका थिए । २०५१ सालमा भएको स्ववियुको चुनाव उनी पराजित भएका थिए । महेन्द्र मोरङ क्याम्पसमा नेविसंघबाट सभापतिमा उठेका माझी १७ मतले पराजित भएका थिए । 

तत्कालीन लखन्तरी गाविसमा २०५४ सालमा कांग्रेसबाट गाँउ विकास समितिको अध्यक्षको उम्मेदवार भएका थिए । उनलाई त्यतिबेला भने भाग्यले साथ दिएको थियो । उनले एमालेका महेश राममाझीलाई २ मतले पराजित गरेका थिए । २०५९ मा उनले ५ बर्से कार्यकाल पूरा गरे । 

तत्कालीन विद्रोही माओवादीको जनयुद्धको असर भने उनीमाथि पनि परेको थियो । कांग्रेसलाई ‘खोजी खोजी एमालेलाई रोजी रोजी’ भन्ने माओवादीको नाराले आफूलाई समेत छोएको उनले बताए । त्यति बेलाको जनप्रतिनिधिहरूको खर्च र जनप्रतिनिधिले पाउनु पर्ने सुविधा धेरै फरक रहेको उनी बताउँछन् । 
त्यतिबेला आर्थिक रूपमा ठुलो नोक्सानी खेप्नु परेको उनले बताए । उनले २०५६ सालमा जग्गासमेत बेच्नु परेको थियो । ‘मेरो सेवा सुविधा १५ सय मात्रै थियो,’ उनले भने ‘जनताको अपेक्षा धेरै थियो । मैले ३ बिघा जमिन पनि बेच्नु परेको थियो ।’ 

आर्थिक नोक्सानीसँगै माओवादीको समेत निशानामा परेपछि उनी विस्थापित भएका थिए । त्यसपछि उनी विदेशतिर पलायन भए । 

माओवादीबाट विस्थापित भएपछि उनी २०६० सालमा मलेसिया गएका थिए । उनले मलेसियामा सात वर्ष बिताए । २०६७ सालमा स्वदेश फर्केका थिए । त्यसपछाडि उनी दुबईमा गएका थिए । उनले त्यहाँ पनि ७ वर्ष बिताए । २०७४ मा विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का उम्मेदवारलाई चुनाव जिताउन आएको बताए । 

चुनावी अभियानमा खट्दा आफ्नो क्रेज बढेपछि आफैं उम्मेदवार बनेको उनले बताए । ग्रामथान १ को वडा अध्यक्षमा उनले त्यतिबेला ८२८ मत ल्याएर निर्वाचित भएका थिए । 

पछि विजय गच्छदारको पार्टी कांग्रेसमा समाहित भएको थियो । त्यतिबेला कांग्रेसले काम गर्न नदिएको उनले बताए । कांग्रेसले जनताका काममा अवरोध पुर्‍याएको उनको आरोप छ । 

२०७९को स्थानीय तहको निर्वाचनमा उनी पालिका अध्यक्षको रेसमा थिए । तर, उनले टिकट पाएनन् । अध्यक्षमा स्वतन्त्र उठ्न खोज्दा माहौल नबनेपछि वडाध्यक्ष मै उम्मेदवारी दिएको उनले बताए । 

७१८ मत ल्याएर कांग्रेसका सुरेशकुमार माझी निर्वाचित भएका थिए ।  उनी ५५४ मत ल्याएर तेस्रो भए । २०७९ को निर्वाचनपछि कांग्रेसमा निष्क्रिय रहेका नमो नारायण भदौ २९ गते माओवादीमा प्रवेश गरेका हुन् । 

माओवादीबाटै विस्थापित भएका उनी अहिले माओवादीकै उम्मेदवार बनेका छन् । त्यति बेलाको परिस्थितिलाई राज्यसँग लड्दा क्षति भएको उनले  प्रतिक्रिया दिएका छन् । ‘कांग्रेसले राणाहरूसँग लड्दा पनि क्षति भएको थियो । एमालेले झापा आन्दोलन गर्दा पनि भएको थियो । राज्यसँग लड्दा अलिअलि क्षति  हुन्छ । माओवादीले त अढाइ सय वर्ष राज गरेको तानासाहशाही शासनलाई हटाउँदा१० बर्से जनयुद्ध गर्नु परेको हो,’ उनले भने ।

राज्यसँगको लडाइ अन्त्य भएपछि माओवादी विकास निर्माणमा देश अगाडि गइसकेको उनको भनाइ छ । देश निर्माणमा लागेपछि भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अभियान माओवादीले नै चालेको उनले बताए । 

‘तीन तहको सरकार बनाउने मोडल त माओवादी कै हो । मोडल बनायो, गाडी बनायो, त्यो गाडी चलाउनलाई कुशल ड्राइभर नभएपछि आज नेपाली जनताले समावेशिताको सिद्धान्तबाट जुन सेवा पाउनु पर्ने हो । त्यसबाट वञ्चित भइरहेका छन्,’ उनले भने । चुनाव जित्नेमा आफू ढुक्क रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्