
खानेपानीमन्त्री प्रदीप यादवले जनअपेक्षाअनुसार मन्त्रालयले द्रुतगतिमा काम गरिरहेको बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मेलम्ची आयोजना सञ्चालनदेखि बाढी प्रभावित क्षेत्रको पुनःस्थापनासम्मका कार्यलाई विशेष ध्यान दिइएको बताए ।
मन्त्रालयले स्थलगत निरीक्षण र जनसंवादमार्फत योजनाको प्रभावकारिता सुनिश्चित गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाइएको मन्त्री यादवको दाबी छ । उनले बडादसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने आफ्नो अठोटअनुरूप मेलम्चीको पानी गत असोज २२ गतेदेखि पुनः सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन थालिएको बताए ।
मेलम्चीको खानेपानी काठमाडौँ आएसँगै यहाँको खानेपानी सङ्कट कम गर्न महत्त्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै मन्त्री यादवले आयोजनास्थलमा पुगेर जिम्मेवार अधिकारीहरूलाई प्रक्रिया छिटो पूरागरी काममा तीव्रता दिनसमेत निर्देशन दिएको बताए ।
मन्त्रालयले सरसफाइ सुधारमा पनि विशेष प्राथमिकता दिएको दाबी गर्दै मन्त्री यादवले असोज महिनामा गएको अविरल वर्षाका कारण धोवीघाट फोहर पानी प्रशोधन केन्द्र डुबानमा परेपछि केही उपकरण अवरुद्ध भएको जानकारी दिए ।
मन्त्रालयले भेरी पम्पिङ आयोजनालाई गतिदिन चीनको झेजिङ टोलीसँग ठेक्का सम्झौतागरी निर्माण कार्य अघि बढाइसकेको मन्त्री यादवले जानकारी दिए ।