
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता समीकरण २०८४ सम्मै जाने भन्दै ढुक्क भएर काम गर्न प्रधानमन्त्री केपी ओलीलाई आश्वस्त गराएका छन् । सरकारको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले डाकेको बैठकमा देउवाले समीकरण आगामी निर्वाचनसम्मै जाने भन्दै ओलीलाई आश्वस्त बनाएका हुन् ।
‘कांग्रेस सभापति शेरबहादुर देउवाले यो सत्ता समीकरण २०८४ सम्मै जान्छ । ढुक्क भएर काम गर्नुस् भनेर प्रधानमन्त्रीलाई भन्नुभयो,’ बैठकपछि नागरिक उन्मुक्ति पार्टीका नेता रञ्जिता श्रेष्ठले लोकान्तरसँग भनिन्, ‘अब डेढ वर्ष हाराहारी ओलीजी र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने पनि उहाँले बताउनुभयो ।’
प्रधानमन्त्री ओली सत्तारूढ दलहरूको बैठकमा सरकारको एक सय दिने हमिमुन अवधिमा राम्रो काम भएको दाबी गरेका थिए ।
प्रधानमन्त्रीले सुशासनकै कदमका रूपमा रवि लामिछाने समातिएको पनि बैठकमा बताएका थिए । ‘हामीले सुशासनको लागि काम गरेको हो । यसै क्रममा सहकारी ठगीमा संलग्न जो भए पनि कारवाहीको नीति लिएका छौं,’ ओलीले बैठकमा भनेका थिए, ‘हामी जनतालाई सार्वभौम बनाउन लागेका छौं । यसैले लोकतन्त्र विरुद्धका अवाञ्छित गतिविधि मान्य छैन ।’
सरकारले सय दिनमा राम्रो काम गरेको भन्दै आजै दिउँसो उपलब्धि सार्वजनिक गर्ने बताएका थिए । सरकारले राम्रो काम गरेको दाबीमा प्रमुख सत्ता साझेदार कांग्रेसका सभापति देउवाले पनि सही थपेको अर्का एक नेता बताउँछन् ।
‘प्रधानमन्त्रीले एक सय दिन सन्तोषजनक भएको बताएपछि देउवाजीले पनि सरकारको कदम ठीक छ भनेर खुशी नै व्यक्त गर्नुभयो’ ती नेताले भने । एक सय दिनको हनिमुन पिरियडमै सरकारको आलोचना उचित नभएको देउवाको भनाइ थियो ।
बैठकमा सहकारी ठगी प्रकरणमा छानबिनका लागि पक्राउ परेका रवि लामिछानेबारे गृहमन्त्री रमेश लेखेकले बिफिङ गरेका थिए ।
‘संसदीय छानबिन विशेष समिति कुनै एक दलको रहरमा बनाएको होइन । सर्वसम्मत रूपमा समिति र प्रतिवेदन बनेको हो । प्रतिवेदन अनुसारको कानुनी प्रक्रियामा जाँदा रास्वपाले अदालत अगाडिसम्म पुगेर विरोध गर्यो जुन गर्न पर्ने थिएन,’ लेखकले बैठकमा भनेका थिए, ‘भीडभाड जम्मा गरेर सहकारी प्रकरणको छानबिन र न्यायिक निरूपणलाई प्रभावित गर्न खोज्नु अनुचित हो ।’
सरकारका कामको प्रतिरक्षामा उत्रिन प्रधानमन्त्रीले गठबन्धन दलका नेतालाई निर्देशन दिएका छन् । साथै गृहमन्त्री लेखकले पनि सत्तारूढ दलका नेतालाई सरकारका पक्षमा बोल्न आग्रह गरेका थिए ।
‘हिजो कांग्रेसबाट बालकृष्ण खाँण र एमालेबाट टोपबहादुर रायमाझी पक्राउ पर्दा हामीहरूले विरोध गरेनौं,’ लेखकले बैठकमा भने, ‘हामीले यस्ता विषयमा बोल्नुपर्छ । साझा धारणा बनाएर अगाडि बढ्नुपर्छ ।’
जनमत पार्टीका अध्यक्ष सिके राउतले बाहिर हल्ला भएजस्तो आन्दोलनको पक्षमा नभएको बताएका थिए । ‘बाहिर जनमतले आन्दोलन गर्दैछ भनेर हल्ला भएको छ,’ राउतले बैठकमा भने, ‘तर हामी आन्दोलनको पक्षमा छैनौं । मैले त्यसरी बोलेको पनि छैन ।’
कात्तिक ९ गते पुन: सत्ता समीकरणको बैठक बस्ने तय भएको छ । सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा छलफल गर्न शुक्रबार पुन: बैठक बस्ने नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जानकारी दिए ।
बैठकपछि साझा धारणा सार्वजनिक गर्ने उनले बताए । आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समीकरणमा रहेका दलहरू एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए ।