
भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले यूईएफए च्याम्पियन्स लिग फूटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमन्डमाथि पुनरागमन जीत निकालेको छ ।
मंगलवार राति भएको खेलमा रियलले ५–२ गोल अन्तरको जीत निकालेको हो ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई जीत दिलाउन भिनिसियसले तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै एन्टोनियो रुडिगर र लुकास भास्क्वेजले समान एक–एक गोल थपे । डर्टमन्डका लागि डोनिल मलेन र जिमी बियोन जिटेन्सले गोल गरेका हुन् ।
खेलको ३०औं मिनेटमा मलेनको गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो । चार मिनेटपछि नै जिटेन्सले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २–० ले पछि परेको रियल दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो । ६०औं मिनेटमा रुडिगरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।
दुई मिनेटपछि नै भिनिसियसले गोल गर्दा रियल २२ को बराबरीमा आयो । खेलकाे ८३औं मिनेटमा भास्क्वेजले रियलका लागि तेस्रो गोल गरे ।
भिनिसियसले ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा रियल ४–२ ले अगाडि बढ्यो । अतिरिक्त समयमा भिनिसियसले ह्याट्रिक पूरा गर्दै रियललाई ५–२ को सहज जीत दिलाए ।
यस जीतसँगै तीन खेलमा ६ अंक जोडेको रियल नवौं स्थानमा छ । डर्टमन्ड समान खेलबाट ६ अंकका साथ पाचौं स्थानमा छ । डर्टमन्डले पहिलो पटक पराजय ब्यहोरेको हो ।