२४ असार २०८३, बुधबार

काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै

कात्तिक ७, २०८१
रौतहट
काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै
फाइल तस्वीर

केही वर्षयता रौतहटका वन क्षेत्रबाट काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै गएको छ । छिटोछरितो हुने भएकाले काठ तस्करहरूले भारतीय नम्बरका साना सवारीसाधनको प्रयोग गर्दै आएको पाइएको छ ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले दिएको तथ्याङ्कअनुसार गत असोजमा मात्रै दुई वटा पिकअप भ्यान र एक थान ट्याक्टर बरामद गरेको छ ।

कार्यालयका सूचना अधिकारी महालक्ष्मी शर्माले गत असोज ७ गते तीन जनासहित ३४ क्युफिट काठ, एउटा पिकअप भ्यान वन गस्तीमा खटिएको टोलीले पक्राउ गरेको थियो । 

गत असोज ८ गते ना ४ च ८७९४ नं को टाटा पिकअपबाट १४ दशमलव २० क्युफिट काठसहित दुई जनालाई पक्राउ गरिएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार असोज २३ गते ८६ क्युफिट काठ, प्रदेश २—०३—००१ त २०८० नम्बरको ट्याक्टरसहित तीन जनालाई पक्राउ गरिएको छ ।

गत आर्थिक वर्षमा विभिन्न मितिमा पाँच थान पिकअप भ्यान र पाँच थान ट्याक्टर काठ चोरी भएकामा वन कर्मचारीले खोजी गरी पक्राउ गरेको थियो ।

साथै मोटरसाइकल, साइकल, टायगाडामार्फत पनि काठ तस्करी भइरहेको भन्दै यी सवारीसाधन सुराकीको आधारमा तथा वनको नियमित गस्ती गर्ने क्रममा पक्राउ परेका सूचना अधिकारी शर्माले जानकारी दिए ।

गत आवमा काठ चोरी गर्ने ४९ जनामाथि मुद्दा चलाइएको जनाउँदै उनले एक हजार एक सय ९४.५८ क्युफिट काठ बरामद गरिएको उल्लेख गरे ।

आव २०७९/८० मा ९५ वटा सवारीसाधनसहित दुई हजार पाँच सयबढी क्युफिट काठ बरामद गरेको थियो ।

सो अवधिमा काठ ढुवानी गर्न प्रयोग भएका पिकअप भ्यान आठ, ट्याक्टर तीन, ट्रक, मिनिट्रक र स्कारपियो एक/एक, साइकल ६५, मोटरसाइकल पाँच र रिक्सा ९५ वटा बरामद गरिएको थियो ।

ती तस्करीमा संलग्न ५० जना तस्करलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो ।

सङ्घीय र प्रदेशको कानुन बाझिँदा बरामद गरिएका सवारीसाधन र काठ लिलाम नहुँदा ती सवारीसाधन र काठ कुहिने अवस्थामा पुगेका डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त साहले बताए ।

'विगत १२ वर्षदेखि ती काठ र सवारीसाधनको लिलाम हुनसकेको छैन भने हालसम्म कुनै पनि मुद्दाको किनारा लाग्न सकेको छैन,' उनले भने ।

कानूनी स्पष्टता नहुँदा कुनै पनि मुद्दाको फैसला नभएको भन्दै काठ र सवारीसाधनको लिलाम हुन नसकेको प्रमुख साहले बताए ।

यो समस्या विश्वव्यापी रुपमा रहेको उल्लेख गर्दै उनले समस्या समाधान गर्न सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।

बरामद काठ र सवारीसाधनको लिलाम नहुँदा राजस्व सङ्कलनमा कमी आएकाले तत्काल समाधानको पहल थाल्नुपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्