
दुनियाँका प्रचलित राजनीतिक प्रणालीहरूमा लोकतन्त्रलाई उत्कृष्ट प्रणाली मानिन्छ । सिद्धान्ततः यो निकै सरल र सहज प्रणालीजस्तो लाग्छ । तर, व्यवहारत: यो निकै जटिल र नैतिक प्रणाली हो । यो विधिद्वारा निर्देशित हुन्छ । यसमा व्यक्ति सर्वोपरि हुँदैन । जतिसुकै उच्च ओहदाको व्यक्ति भएपनि लोकतान्त्रिक शासन प्रणालीमा प्रचलित कानून र संविधानको दायरा नाघ्न मिल्दैन । आफूले गरेको गल्ती र कमजोरीलाई सहज रूपमा स्वीकार गर्दै विधिको पूर्ण पालना गर्नु नागरिकको कर्तव्य हो । लोकतन्त्रको खासियत पनि यही हो । व्यक्तिको हैसियत र शक्तिअनुसार लोकतन्त्रले फरक–फरक व्यवहार गर्दैन । उच्च ओहदाको शक्तिशाली व्यक्ति होस् वा सीमान्तकृत, सबैले समानरूपमा कानूनको परिपालना गर्नुपर्छ । लोकतन्त्रमा तर्क, कुतर्क, मुढेबल, छलछाम वा ठूलो स्वर गरेर आफ्ना गल्ती कमजोरी वा अपराध ढाकछोप गर्न मिल्दैन, पाइँदैन । यस विषयमा सिद्धान्ततः संसारभरि कहीँ कतै पनि मतभेद छैन । हामी नेपालीहरूले पटक–पटक गरेको राजनीतिक संघर्षको उद्देश्य पनि विधिको शासन स्थापना गर्ने थियो । यसमा आजसम्म पूर्ण सफलता हासिल हुन सकेन । प्रणाली त स्थापना भयो तर विधिको शासन कायम हुन सकेन । र, राजनीतिमा विधिविहीनताले प्रश्रय पाउँदै गयो । आज लगभग अराजकतामा परिणत हुन लागेको छ । संविधान, कानून र संरचनाले मात्र काम गर्दो रहेनछ । लोकतन्त्रलाई चलाउने पात्र समेत गतिलो हुनुपर्ने रहेछ । यस परिस्थितिका लागि राज्य सञ्चालनको उपल्लो तहमा पुगेका सबै दल थोरबहुत जिम्मेवार छन् ।
वर्तमान सरकार
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेलगत्तै यस पंक्तिकारले भनेको थियो, 'यो मौकालाई दुवै दलले अधिकतम सदुपयोग गर्नुपर्छ । बहुदलकाल र गणतान्त्रिककालको कमी कमजोरी र अयोग्यता हटाएर जनतालाई नयाँपनको अनुभूति गराउनुपर्छ र मुख्य दलहरू नै नेपालको राजनीतिका मेरुदण्ड तथा समाजका आशाका किरण र भाग्य विधाता हुन् भन्ने मान्यता स्थापित गर्नुपर्छ । यसो गर्न सकियो भने जनताको चहर्याइरहेको घाउमा मल्हम लाग्न सक्छ र पुराना दलहरू सुध्रिएको सन्देश प्रवाहित हुन्छ । 'आज उठिरहेका प्रश्नहरू यसैको जगमा खडा भएका हुन् । प्रचण्ड जनमत भएका मुख्य दलहरू मिलेर सरकारमा जाँदा शासन प्रणालीमा देखिएका विकृति अन्त्य भई सुशासन प्रारम्भ हुने अपेक्षा गरिएको थियो । र, यो निकै स्वभाविक पनि हो । अविकास, पछौटेपन र गरिबीले थलिएको समाजले अब त केही होला कि भनेर आश गर्नुबाहेक अरू विकल्प के थियो र ? आजसम्म कसैले आश जगाउन नसकेकाले कांग्रेस–एमाले नै सफल हुन् भन्ने जनअपेक्षा थियो ।
सय दिन पूरा गरेको वर्तमान गठबन्धनका शुरूआति दिनहरू अर्थात् मधुमास उत्साहजनक देखिएन । विपद व्यवस्थापनमा पनि सरकार त्यति सफल हुन सकेन । हामीलाई थाहा छ, नेपालको उन्नतिका लागि वर्तमान शासन प्रणालीभन्दा उत्तम प्रणाली अहिलेलाई अर्को छैन । तर, शासन प्रणाली मात्र सर्वोपरि होइन । यसका लागि सुयोग्य नेतृत्व चाहिन्छ भन्ने यथार्थ आजसम्मका घटनाक्रमले प्रमाणित गरिसकेका छन् । राजनीतिमा जनताको सम्मान, विश्वास र भरोसा टुटेपछि हरेक देशले भोग्नुपर्ने दुर्दशा एकै हो । यस वास्तविकतालाई मौजुदा गठबन्धनले समयमै बुझ्नसके राम्रो हुन्छ । इतिहासमा यस्तो मौका घरिघरि आउँदैन भन्ने सुझाव पंक्तिकारको हो । तथापि यसका प्रारम्भिक लक्षणहरू गतिला छैनन्, देखिएनन् । बिग्रिएको छवि सुधारेर जनताको मन जित्नु वर्तमान गठबन्धनको मुख्य चासो हुनुपर्नेमा सरकारको क्रियाकलाप र यात्रा पुरानै पदचिह्नमा अग्रसर र केन्द्रित छ ।
ऐतिहासिक तमासा
हिजोआज नेपाली राजनीतिमा अभुतपूर्व तमासा छ र यो ऐतिहासिक छ । यो तमासा हामी नेपाली मात्र होइन, पूरा संसारले हेरिरहेको छ । तमासाका शृंखला धाराबाहिक र निरन्तर छन् । एकपछि अर्को तमासा गम्भीर र हदैसम्मका मनोरञ्जक पनि छन् । हामीलाई थाहा छ, जनताको चेतनाले समाज हिँड्ने सही बाटो तय गर्छ । मूलतः राजनीतिक, सामाजिक र सांस्कृतिक जागरण चेतनाका जीवन्त प्रमाण हुन् । यसले समग्र मानव जातिको विकासक्रमलाई सुनिश्चित पनि गर्दछ । समाजको निरन्तर प्रगतिका खास मािदण्डहरू हुन्छन्, जसले मान्छेलाई अरू प्राणीभन्दा फरक देखाउँछ र सम्पूर्ण जगत कल्याणको अधिकारी बनाउँछ । यसले आपसी प्रतिस्पर्धा समेत सिर्जना गर्दछ र यही प्रतिस्पर्धाबाट नै सर्वाधिक योग्य र श्रेष्ठ व्यक्तिहरूको चयन हुन्छ । यसरी छानिएका व्यक्तिहरू नै समाजका अगुवा हुन्छन् । यिनिहरूमा नै राज्यको शक्ति र अधिकार केन्द्रित हुन्छ । यसको शृंखलाबद्ध इतिहास छ र यस विषयमा धेरै ग्रन्थहरू रचिएका छन् । यस्ता व्यक्ति गतिला र सज्जन भए समाज बन्छ, नत्र हाम्रोजस्तो हालत हुन्छ । यसको बारेमा समय–समयमा चर्चा हुँदै आएको छ । हाम्रो राष्ट्रिय चरित्र, अविकास एवं पछौटेपनको रहस्य, कारण र वर्तमान परिदृष्यका बारेमा बहुतै चर्चा भइसकेको छ ।
पछिल्लो प्रकरण
पछिल्लो समयको सर्वाधिक चर्चित मुद्दा सहकारी ठगी प्रकरण हो । यस सम्बन्धमा केही सहकारी सञ्चालकहरू समातिएका छन् र केही फरार छन् । केहीमाथि अनुसन्धान जारी छ भनिएको छ । भर्खरै रास्वपाका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको अभियोगमा प्रहरीले गिरफ्तार गरेको छ । यस प्रकरणमा नेपाली जनमत विभाजित देखिन्छ । यसको स्पष्ट कारण छ । हाम्रा आजसम्मका घटनाक्रमहरूले नेपालमा शक्तिशाली र उच्च ओहदामा रहेका व्यक्तिलाई जे गर्न पनि छुट छ, कानून व्यवस्थाले छुँदैन भन्ने तथ्य स्थापित नै छ । अपवादबाहेक यसका अनगिन्ती दृष्टान्त छन् । त्यसैले सर्वसाधारण जनतामा चरम निराशा समेत फैलिएको छ । पुराना दलभित्रका केही व्यक्तिलाई देखाएर समग्र दल नै खराब भन्ने भाष्य बनाइएको छ । यसैलाई आधार बनाएर नयाँ दलहरूले राजनीति गरिरहेका छन् । यस वास्तविकतालाई पुराना दलका मुख्य नेताहरूले आत्मसात गरेको पाइँदैन । तर, अचम्म त के छ भने जे–जे विषयमा पुराना राजनीतिक दलसँग जनताको असन्तुष्टि हो, त्यही गल्ती र क्रियाकलाप नयाँ दलका नेताबाट प्रदर्शित हुँदैछन् । यसबाट आखिर राजनीति के रहेछ र ! सबै उस्तै त रहेछन् भन्ने मान्यता पुनः एकपटक स्थापित हुँदैछ । यसले हाम्रो राजनीतिको चेतनास्तर खासगरी राजनीतिक नेतृत्वको गुणस्तरलाई झल्काउँछ । र, देश किन उभो लागेन र जनताको जीवनस्तर किन माथि उठेन भन्ने चित्रलाई स्पष्ट पार्छ । यसले आफ्नो निजी सुख सुविस्ताका लागि जसरी पनि सत्तामा पुग्नैपर्ने र जनतालाई चरम बेवास्ता गर्ने पञ्चायती वा निरंकुश चरित्रको पुनरावृत्ति भएको छ । जनतालाई सर्वोपरि ठान्ने लोकतन्त्रले यही बाटो हिँडेर नै कुलीनतन्त्रको रूप धारण गर्ने हो । हाम्रा अगाडि देखिएका यिनै ताजा र नयाँ घटनाक्रमहरूले जनताको निराशालाई चरमोत्कर्षमा पुर्याउने र प्रतिक्रान्तिको खतरालाई बढाउने हो ।
राष्ट्रिय चरित्र
नेपाली राजनीतिका स्थापित मानक र आदर्शहरू थिए र छन् । अब भने केही बाँकी नरहने भए । हामीलाई आफूले पछ्याउने वा अनुशरण गर्ने कुनै मान्यता र आस्था राख्ने धरोहर चाहिँदै चाहिएन । समाजमा आपसी विश्वास, सद्भाव र एकता खण्डित हुँदै गयो । यसका कारक र सहायक हामी नै भयौं । कानूनी राज सिद्धान्तमा मात्र सीमित भयो । सक्नेले जे गरेपनि हुने भयो । राज्य संयन्त्रहरू शक्ति केन्द्रका कठपुतली बने । नैतिक धरातलको खाँचो बौद्धिक विमर्शमा मात्र महसुस गर्न थालियो । नयाँ पुस्ता समाजको पथप्रदर्शक बन्नुपर्नेमा झन् पथभ्रष्ट बन्दै गयो । भ्रष्ट प्रवृत्ति र खराब आचरण समाजको जरासम्म पुग्यो । बेथितिका बाहकहरू समाजका अगुवा बन्न थाले । राज्यलाई खोक्रो बनाएर आफ्नो धोक्रो भर्नेहरू राष्ट्र चलाउने ठाउँमा पुग्न थाले । एकप्रकारले नेपाली समाज पतनको विनाशकारी बाटो समातेर तीव्र गतिमा ओरालो झर्न थाल्यो । समाज दिशाहीन हुँदै गयो । नैतिक शिक्षाको अभावमा गर्न हुने र नहुने कामको भेद हुन छाड्यो । भौतिक प्राप्ति नै सर्वोपरि हुन थाल्यो । मानवीय मूल्य मान्यताको क्षयीकरणले मानव सभ्यताको भविष्यमाथि प्रश्न खडा हुन थाल्यो । शिक्षण संस्था र विश्वविद्यालयहरूले आफ्नो कर्तव्य बिर्सिए । हुँदाहुँदा नागरिक अगुवाहरूले नेतृत्व गर्ने लोकतन्त्रको स्थायी प्रतिपक्षको रूपमा रहने नागरिक समाज समेत अस्तित्वहीन देखियो । हिजोआज यसको न आवाज सुनिन्छ, न त दबाब नै । नागरिक समाजको निष्क्रियताले लोकतन्त्र कमजोर हुँदै जान्छ । यसको अनुपस्थितिले राजनीतिमा जसले जे गरेपनि हुन्छ भन्ने प्रवृत्ति मौलाउँदै जान्छ । वास्तवमा आज यही प्रवृत्ति नै नेपालको राष्ट्रिय चरित्र भएको छ ।
भुईँफुट्टाहरूको बिगबिगी
यतिबेला नेपाली राजनीतिमा भुईँफुट्टाहरूको बिगबिगी छ । प्रचलित राजनीति वा शासन प्रणालीलाई यही प्रवृत्तिले गाँजेको छ र नचाउने प्रयास गरिरहेको छ । यो प्रवृत्ति पुराना र नयाँ दुवै दलभित्र हावी हुँदै गएको छ । कतिपय दलमा त निर्णायक भूमिकामा पुगेको छ । यस प्रवृत्तिको न धुरी छ, न जग । तथापि एकथरि प्रवृत्ति राजनीतिक शक्तिकेन्द्रसँग सुमधुर सम्बन्ध जोडेर आफूलाई निर्णायक भूमिकामा स्थापित गराउन सफल भएको छ भने अर्कोथरि नयाँ विकल्पको नारा दिँदैछ । राजनीतिक मूल्यमान्यताबाट धेरै टाढा यस प्रवृत्तिले विधि र व्यवस्थाको खिल्ली उडाएको छ । यी दुवैथरि भुईँफुट्टाहरू निकै गैरजिम्मेवार छन् । राजनीतिक सिद्धान्त, जनअधिकार र देशको उन्नतिसँग यिनीहरूलाई कुनै सरोकार छैन । लोकतन्त्रसँग गोरु बेचेको साइनो समेत छैन । यिनीहरूलाई जसरी पनि राजकीय ओहदा चाहिएको छ । एकथरि भुईँफुट्टा सस्ता र लोकप्रिय कुरा गर्छन् । आफू नै देश र दुनियाको मसिहा ठान्छन् । अर्काथरि भुईँफुट्टा दलको नेतृत्व रिझाएर चाहेको ओहोदा हत्याउँछन् । समाजका सज्जन र निर्दोष नागरिकहरूलाई उपदेश दिन्छन् । बाहिर चर्का कुरा गर्छन् र मस्तसँग राज्यकोषको दोहन गर्छन् । फेरि जनतालाई आदर्शको पाठ पढाउँछन् र दोष जति अरुको थाप्लोमा थोपर्छन् । आजको नेपाल यही हो ।
व्यक्ति जन्मेर खेलेको, हुर्केको र पढेको समाजमा थोरै भएपनि उसको जरा गाडिएको हुन्छ । उसले बनाएका संस्थाको पनि खास सैद्धान्तिक र नैतिक आधारशिला हुन्छ । त्यसैमा उभिएर उसले आफ्ना गतिविधि गर्छ । योगदान, संघर्ष, त्याग र समर्पणले खास सिद्धान्तप्रतिको निष्ठालाई गाढा तुल्याउँछ । त्यस समाजप्रति थोरै दायित्व र प्रेम पनि पैदा हुन्छ । आफ्नो स्वार्थका लागि समाज बदल्दै हिँड्ने र फगत वैयक्तिक लाभका निम्ति थरिथरिका बाजा बजाउँदै हिँड्ने व्यक्तिबाट समाज त के परिवारले पनि अपेक्षा नगरे हुन्छ । भुईँफुट्टाहरू कहिले क्रान्तिकारी, कहिले सज्जन, कहिले हक्की र निडर त कहिले बहुतै राष्ट्रप्रेमी देखिन्छन् । यो उनीहरूको देखिने चेहरा हो । यस्ता पात्रहरू अक्सर छद्मभेषी हुन्छन् । यस्ता व्यक्ति सबै दलमा यथेष्ट छन् । यस्ता पात्रले देखावटीरूपमा केही गरेझैं पनि गर्छन्, तर त्यो सधैँ नाटकीय र कृत्रिम हुन्छ । उनिहरूको जनकल्याणमा लगाव हुँदै हुँदैन । सबै सतही र व्यापारिक हुन्छ । यसले केही समय नागरिकहरूलाई ठूलो भ्रममा पार्छ र अनुयायी बनाउँछ । पछाडि दौडाउँछ । एक प्रकारले सिधा र सज्जन जनतालाई झुक्याएर आफ्नो अभिष्ट पूरा गर्छ । र, समयक्रममा ठूलो विश्वासघात गर्छ । पुराना दलमा पनि यस्तो प्रवृत्ति ओत लागेको छ भने नयाँ दलमा त मार्गदर्शक नै छ ।
आफ्ना गल्ती कमजोरी स्विकार्नै नसक्ने आचरण भुईँफुट्टा चरित्र हो र लोकतन्त्रको प्रतिकूल मान्यता हो । मानिस र मानिसले बनाएका संस्थाबाट गल्ती कमजोरी हुन्छन्, कतिपय नजानेर, कतिपय नियतवश । नजानेर गरिएका गल्तीहरू क्षमायोग्य पनि हुन्छन्, तर नियतवश गरिने गल्तीहरू दण्डनीय हुन जान्छन् । भुईँफुट्टाहरू नियोजित गल्ती गर्छन्, जो अपराध हो । यी अपराधले समाजलाई ठूलो हानी पुर्याउँछन् । नेपालको राजनीतिमा बारम्बार यस्ता अपराध दोहोरिदै,तेहरिदै आएका छन् । यसबाट हाम्रो समाज थिलथिलो भएको छ । तर, आजसम्म अपराधीहरू कै डाँको ठूलो सुनिन्छ । यो सिलसिला कहिले रोकिने ? यसको पछिल्लो संस्करण हो, सहकारी प्रकरण । यस प्रकरणमा जनताको पीडा जोडिएको छ । कांग्रेस–एमालेको वर्तमान सरकारले जनताको पक्षमा काम गर्नुपर्छ । यतिबेला जनताले न्याय नपाउने हो भने साँच्चै नै पुरानाहरूको औचित्य सिद्धिएको प्रमाणित हुन्छ । राजनीतिक आग्रहभन्दा माथि उठेर निष्पक्ष छानबिन गरी दोषी वा अपराधीलाई कारबाही होस् भन्ने जनआवाज न्यायोचित छ । त्यसैले पुराना दलले आफ्नो विगतको कामकारबाही र भूमिकाको सिंहावलोकन, समीक्षा र पुनरावलोकन गरी समसामयिक भूमिका तय गर्नुपर्छ । र, आफूहरूको कार्यशैली तथा भूमिकाप्रति जनतालाई आश्वस्त तुल्याउनु पर्छ । देशले विधिको शासन र जनताले राहत खोजेको छन्, तमासा होइन । सहकारी प्रकरणमा प्रकरण विशेषमाथि विश्वसनीय छानबिनसहित सम्पूर्ण पीडित नागरिकले न्याय पाउनुपर्छ ।