
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सहकारी ठगी प्रकरणमा पोखरामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि रुपन्देहीमा पनि अनुसन्धान हुने भएको छ ।
रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ ।
न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बिहीबार उनीहरूलाई पक्राउ गर्ने अनुमति दिएको हो । यसैगरी लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको छ ।
सहकारी ठगीमा अनुसन्धान भइरहेकै बेला उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त शर्माले जानकारी दिए ।
यसैबीच असोज २ गते पक्राउ परेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ ।
००००
यता रास्वपा सहकारी ठगीमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको न्यायिक प्रक्रियालाई राजनीतिक रंग दिने अभियानमा लागेको छ ।
गोरखा मिडियामा आएको करोडौं रुपैयाँ खर्च गर्ने प्रक्रियामा संलग्न रहेको भन्दै सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको सिंगो पार्टी पंक्ति यो अभियानमा लागेको हो ।
००००
ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषदको बैठकमा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषय उठाएका छन् ।
मन्त्री खड्काले बिहीवार सिंहदरबारमा बसेको बैठकमा महसुल नतिर्ने उद्योगहरूको लाइन काट्ने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको अडानबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका हुन् ।
यसबारे छलफल गर्न बसेको प्राधिकरण सञ्चालक समिति बैठक कुनै निर्णयमा पुग्न नसकेको ऊर्जामन्त्री खड्काले बैठकमा जानकारी दिएको श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले जानकारी दिए ।
००००
यसैबीच डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको बिजुली काट्न थालेको छ । उद्योगीलाई बक्यौता तिर्न दिएको समय सकिएसँगै प्राधिकरणले उद्योगको बिजुली काट्न थालेको हो ।
००००
नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ ।
००००
वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३.३२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २.९०१ प्रतिशत रहेको खराब कर्जा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३.३२ प्रतिशत पुगेको हो ।
गत आर्थिक वर्षको तुलनामा चारवटा बैंकले मात्रै खराब कर्जा घटाएका छन् भने बाँकी १६ वटै वाणिज्य बैंकहरूको खराब कर्जा बढेको छ ।
००००
सरकारले डेंगु फैलिरहेको भन्दै त्यसको रोकथामका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै सरकारी कार्यालय र मन्त्रालयहरूमा सरसफाइ गरेर डेंगु रोकथामका लागि अभियान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
००००
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको आयात र निर्यात दुवैमा गिरावट आएको छ । चालु आवको असोज महिनासम्म आइपुग्दा ४.१७ प्रतिशतले आयात र ६.११ प्रतिशतले निर्यात घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।
००००
साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से १८.२५ अंकले घटेर २६२७.१४ बिन्दुमा अडिएको हो ।