१३ असार २०८३, शनिबार

निर्वाचन आयोगले तोक्यो उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा

कात्तिक ९, २०८१
काठमाडौं
निर्वाचन आयोगले तोक्यो उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा

निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्षका लागि खर्च पाउने सीमा तोकको हो । 

आयोगको निर्णयअनुसार महानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि ७ लाख, उपमहानगरपालिकाको प्रमुख वा उपप्रमखुका लागि ५ लाख र नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि चार लाख ५० हजारको सीमा तोकेको हो । 

त्यस्तै, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको लागि तीन लाख ५० हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदको निर्वाचनको लागि ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकिएको आयोगले जनाएको छ ।

त्यस्तै, आयोगले महानगरपालिकामा वडा अध्यक्षका लागि तीन लाख, उपमहानगरपालिकाको वडा अध्यक्षका लागि दुई लाख ५० हजार, नगरपालिकाको वडा अध्यक्षका लागि दुई लाख र गाउँपालिकाका वडा अध्यक्षले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण गरिएको हो ।

उम्मेदवारले मनोनयन पत्र दर्तादेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म खर्च गर्न पाउने गरी यसरी खर्चको हद तोकेको हो । 

मंसिर १६ गते जिल्ला समन्वय समितिको २ प्रमुख, गाउँपालिकाका २ अध्यक्ष, १ नगरपालिका  प्रमुख, ४ गाउँपालिका उपाध्यक्ष, १ नगरपालिका उपप्रमुख, ९ गाउँपालिका वडाध्यक्ष र  २१ नगरपालिका वडाध्यक्ष गरी ४० पदमा निर्वाचन हुन लागेको हो । 

काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख, मोरङको ग्रामनाथ गाउँपालिका अध्यक्ष र दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचन हुँदैछ ।

जाजरकोटको नगलगाड नगरपालिकाको उपप्रमुख र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचन हुन लागेको हो ।

त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा पनि निर्वाचन हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्