१२ असार २०८३, शुक्रबार

रामजानकी विवाह महोत्सव आयोजना गर्न समिति गठन

कात्तिक ९, २०८१
जनकपुरधाम
रामजानकी विवाह महोत्सव आयोजना गर्न समिति गठन
फाइल तस्वीर

मधेश प्रदेश सरकारले आगामी मङ्सिर २१ गते जनकपुरधाममा आयोजना गरिने रामजानकी विवाह महोत्सवलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

उक्त समितिले महोत्सव अन्तर्गत गरिने कार्यक्रम, अयोध्याबाट आउने जन्ती र मेला भर्न आउने श्रद्धालु भक्तजन तथा साधुसन्तका लागि बास प्रबन्ध आदिका विषयमा गर्नुपर्ने कामका सूची सरकारलाई बुझाउनुपर्ने गरी समिति गठन गरिएको बताइएको छ ।

गठित सो समितिमा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोदकुमार जयसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँ सदस्य रहेका छन् ।​​

त्रेतायुगमा अयोध्या नरेश दशरथका पुत्र रामचन्द्र र मिथिला नरेश जनक नन्दिनी जानकीबीच विवाह भएको स्मरणमा जनकपुरधाममा मङ्सिर शुक्ल पञ्चमीका दिन रामजानकी विवाहोत्सव मनाइँदै आएको छ ।

रामजानकी विवाहोत्सवका अवसरमा जनकपुरधाममा साताव्यापी कार्यक्रम गर्ने गरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्