२९ असार २०८३, सोमबार

अनुगमनमा असहयोग गरेकोप्रति कालीमाटीका व्यवसायीले मागे माफी

कात्तिक १०, २०८१
काठमाडौं
अनुगमनमा असहयोग गरेकोप्रति कालीमाटीका व्यवसायीले मागे माफी

​​गत असोज २० गते कालीमाटी तरकारी र कुलेश्वर फलफूल बजार अनुगमन गर्न गएको टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार्दै माफी मागेका छन् ।

नेपाल फलफूल थोक व्यवसायी सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गरी आफूहरूबाट अन्जानमा असहयोग भएको र आगामी दिनमा गल्ती नदोहोरिने प्रतिबद्धतासहित माफी मागेको हो । 

सङ्घका अध्यक्ष अम्मर बानियाँले सो दिन अनुगमनमा गएको टोलीलाई व्यापारीहरूले अन्जानमा असहयोग र नाराबाजी गरेकाले क्षमायाचना गरिएको बताए । 

'गत असोज २० गते नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमेत उपस्थित रहनुभएको सरकारी बजार अनुगमन टोलीलाई व्यापारीहरूले असहयोग गर्दै नाराबाजी गरेको घटनाप्रति हामी व्यापारीहरूको तर्फबाट क्षमायाचना गर्दर्छौँ,' विज्ञप्तिमा भनिएको छ, 'आगामी दिनमा हामीबाट यस्ता अवाञ्छित गतिविधिहरू नदोहोरिने प्रतिबद्धता गर्दै व्यापार व्यवसाय सञ्चालनका क्रममा नेपालको प्रचलित कानुनअनुसार सबै मापदण्डहरू पूरा गर्ने र विगतमा भएका कमजोरी पूर्ण रूपले सुधार गर्ने विश्वास दिलाउन चाहन्छौं ।'

त्यस दिन कालीमाटी तरकारी र कुलेश्वर फलफूल बजारमा अनुगमन गर्दा अधिकांश व्यापारीहरूले बिल बिजकबिना नै कारोबार गरिरहेको, मूल्यसूची नराखेको, अस्वभाविक मूल्यमा सामग्री बिक्री वितरण गरेको तथा कालीमाटीस्थित माछा पसलहरूमा सरसफाइ नगरेको पाइएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमेत छड्के अनुगमनमा गई त्यहाँका दुई पसललाई कारबाही गर्न निर्देशन दिएर फर्किएपछि व्यापारीहरूले अनुगमन टोलीलाई दुर्व्यवहार गरेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

मन्त्रालयमा आज भएको छलफलमा व्यवसायीहरूले सरकारका काममा सम्पूर्ण सहयोग गर्ने र मन्त्रालयको तर्फबाट व्यापारीहरूका उचित समस्याको सम्बोधन गरिने समझदारीसमेत भएको छ ।

मन्त्री भण्डारीले सरकारको नियमानुसार व्यापार व्यवसाय गर्न सबैलाई आग्रह गरेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्