०१ असार २०८३, सोमबार

थाई एयर एसियाको उडान निलम्बित, आधिकारिक एजेन्ट पनि रद्द

कात्तिक ११, २०८१
काठमाडौं
थाई एयर एसियाको उडान निलम्बित, आधिकारिक एजेन्ट पनि रद्द
फाइल तस्वीर

उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरिएको हो । करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।

सूचना अधिकारी भूलले थाई एयर एसियाको उक्त विमानको शनिबारसम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको जानकारी दिए ।

'विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउँछ,' उनले भने, 'यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । अब, तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ । जीएसए पनि रद्द भएको छ ।'

विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौंबाट आजै यात्रुलिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएको छ ।

थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । 

प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो ।

प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५)सम्मको उडान तालिका सार्वजनिक गरेको छ ।

थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान शुरू गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्