
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको डेस्कमा मात्र बसेर गुनासो सम्बोधन गरिरहेको 'हेलो सरकार'को टोली आइतबारदेखि काठमाडौं उपत्यकाका विभिन्न सरकारी कार्यालयहरूमा निगरानी गर्न परिचालन भएको छ । सेवाग्राहीको गुनासो प्रभावकारी रूपले सम्बोधन नभएपछि हेलो सरकारको टोली गोप्य क्यामेरासहित भिडभाड हुने सरकारी कार्यालयमा परिचालन भएको हो ।
गत शुक्रबार मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा अभिमुखीकरण गरेपछि आइतबारदेखि टोली परिचालन भएको हो ।
सरकारी कार्यालयमा कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई विभिन्न दु:ख दिएको भन्ने जनगुनासो बढेपछि सरकारी सेवा थप प्रभावकारी बनाउन हेलो सरकारको टोली परिचालन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय मामिला हेर्ने सचिव कृष्णहरि पुष्करले बताए । उनकै ककमान्डमा गठन भएको टोली सरकारी कार्यालयमा गोप्य रूपले परिचालित भएको हो ।
उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकारका कर्मचारी, राष्ट्रिय सतर्कता केन्द्रका कर्मचारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी समेतको संयुक्त टोली बनाएर 'हेलो सरकार' टोली परिचालित भएको हो ।
राहदानी, कन्सुलर सेवा, श्रम, वैदेशिक रोजगारी, यातायात व्यवस्था विभाग, मालपोत, नापी, बस पार्क, विमानस्थल, सरकारी अस्पताल, प्रहरी कार्यालय र यातायात कार्यालयहरूमा टोली परिचालन भएको हो ।
'गोप्य रूपले भिजिबल नहुनेगरी एउटा निगरानी टोली र सेवाग्राहीलाई सरकारी कार्यालयसँग सहजीकरण गर्ने उद्देश्यले देखिनेगरी हेलो सरकारको अर्को टोली उपत्यकास्थित विभिन्न सरकारी कार्यालयमा परिचालन गरेका छौं,' सचिव पुस्करले लोकान्तरसँग भने, 'निगरानी गर्न गएका टोलीसँग इन्टरसेप्टिभ डिभाइस, सेक्युरिटी क्यामेरा, कम्युनिकेसन डिभाइस, इनभिजिबल कम्युनिकेसन डिभाइस, हिडन क्यामेरा, रेकर्डिङ डिभाइससहित प्रविधि दिएर पठाएका छौं ।'
निगरानी गर्न खटिएका टोलीको पनि छुट्टै निगरानी गर्न अदृश्य टोलीसमेत परिचालन भएको उनले बताए । 'निगरानी गर्न गएका टोलीलाई ट्र्याकिङ डिभाइस दिएर पठाएका छौं । उक्त टोलीको काम कारबाहीलाई समेत निगरानी गर्न अर्को छुट्टै टोली पनि खटिएको छ,' उनले थपे, 'त्यसैगरी सहजीकरण गर्न गएका टोलीले भने स्पष्ट खुल्ने ब्याच लगाएका हुन्छन् । त्यो टोलीले सेवाग्राही र सेवा प्रदान गर्ने निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्छ ।'

ती सबै काम गर्न तीन तहमा टोली गठन भएको छ । रणनीतिक टीममा आवश्यकताअनुसार प्रधानमन्त्री केपी शर्मा ओली, मुख्य सचिव एकनारायण अर्याल पनि बस्नेगरी सचिव पुष्करसमेत रहेका छन् । दोस्रो अप्रेसनल टोलीमा सहसचिव, उपसचिवहरूको टोली र तेस्रो इन्फोर्समेन्ट टोलीमा उपसचिव र उपसचिव मुनिका अधिकृतहरू रहेका छन् ।
हेलो सरकारको टोलीमा काम गर्ने कर्मचारीहरूको कार्य सम्पादन हेरेर मौद्रिक तथा गैरमौद्रिक प्रोत्साहन गरिने सचिव पुष्करले बताए । 'राम्रो तरिकाले परिणाम दिने टोलीका कार्मचारीलाई मौद्रिक साथै गैरमौद्रिक प्रोत्साहन भत्ता पनि दिन्छौं,' उनले थपे, 'गैरमौद्रिक प्रोत्साहनतर्फ करियर डेभलपमेन्टका कुरामा अवसर प्रदान गर्छौं ।'
देशमा सुशासन कायम गराउने भन्ने सरकार तथा प्रधानमन्त्रीको चाहना बमोजिम उक्त कार्य गर्न लागिएको उनले बताए । 'सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमा व्यक्त गर्नुभएको अभिव्यक्ति, नेपाली कांग्रेस र नेकपा एमालेसहित गठबन्धन दलबीच सरकारको प्राथमिकतासम्बन्धी गरिएको अवधारणा सहितलाई आधार बनाएर पहिलो चरणमा काठमाडौं उपत्यकामा परीक्षण गर्न लागिएको हो,' पुस्करले थपे,' त्यसको परिणाम देखिएपछि देशभरका सरकारी कार्यालयमा टोली परिचालन गर्नेछौं ।'
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला २०६८ सालमा हेलो सरकार सञ्चालनमा ल्याइएको थियो । नि:शुल्क हटलाइन नम्बर '११११' मा सेवाग्राहीले फोनमार्फत सरकारी निकायमा हुने गरेको विकृतिविरुद्ध गुनासो गर्ने गरेका थिए । तर, जुन तरिकाले हेलो सरकारले गुनासो तथा समस्याको समाधान गर्नुपर्ने थियो त्यो भने हुन नसकेको गुनासो आइरहेको छ ।
आएको गुनासो सम्बोधनका लागि सम्बन्धित सरकारी निकाय वा कार्यालयमा फरवार्ड गरिदिएर गुनासो फर्स्यौट भएको भन्ने कुरा लेख्ने गरिएको थियो । पछि २०७६ साउन १ गते देखि सरकारले हेलो सरकार एप पनि सञ्चालनमा ल्याएको थियो । नागरिकले हेलो सरकारको नि:शुल्क हटलाइन '११११' मा फोन गरेर, हेलो सरकार एपमार्फत, सामाजिक संजालमार्फत, वेबसाइटमार्फत तथा निवेदनमार्फत उजुरी वा गुनासो गर्ने गरेका छन् ।
कोभिडअघिसम्म रात्रीकालीन समयमा पनि हटलाइनको फोन उठ्ने गरेको थियो । तर, कोभिड आएपछि रात्रीकालीन समयमा भने कर्मचारीलाई खटाइएको छैन ।
२०८० भदौ १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुनः रात्रीकालीनसमेत गरेर चौबिसै घण्टा हटलाइन सेवाको उद्घाटन गरेका थिए । त्यसअघि सिंहदरबारमा हेलो सरकारको छुट्टै कार्यालय रहेकोमा अहिले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भुइँतल्लामा नै कोठा नम्बर ११० मा सञ्चालित छ । एकपटकमा ११११ नम्बरमा एकै साथ ६ जनाले फोन गर्न सक्नेगरी टेलिफोन सेटको व्यवस्थापन गरिएको छ । अहिले फोन उठाउन तीन शिफ्टमा कर्मचारीहरू खटिएका छन् ।
२०७६ साउन १ देखि हालसम्म ५२ हजार ४३७ गुनासो हेलो सरकारमा दर्ता भएका छन् । जसमध्ये ३१ हजार ९१२ थान(६० .८६ प्रतिशत) गुनासो फर्स्यौट भएका छन् । त्यसैगरी सम्बन्धित निकायले गुनासो हेरेर ९ हजार ३२४ (१७.७८ प्रतिशत) थान गुनासोलाई प्रक्रियामा लगिएको छ ।
प्रक्रियामा गएर पनि समाधान नभएको उजुरीको संख्या ७ हजार ८७० (१५ प्रतिशत) छ ।
हेलो सरकारको डेस्कमा काम गर्ने कर्मचारीका अनुसार २०७६ देखि हालसम्म सबैभन्दा बढी प्रहरी प्रधान कार्यालय मातहतका निकायसँग सम्बन्धित उजुरी ५ हजार ३५० थान छन् । त्यसैगरी चालू आर्थिक वर्षदेखि खारेजी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित ३ हजार १३८ थान, नेपाल विद्युत प्राधिकरणसँग सम्बन्धित २ हजार ४५२ थान उजुरी आएको ती कर्मचारीले बताए ।
त्यसैगरी सडक विभागसँग सम्बन्धित १ हजार ३३५ थान, काठमाडौं महानगरपालिकाको कार्यालयसँग सम्बन्धित १ हजार १४७ थान उजुरी आएको छ ।
वेबसाइटमार्फत २२ हजार ५५१ थान, हटलाइन फोनमार्फत ३ हजार १७३ थान, इमेलमार्फत १ हजार ४१८ थान उजुरी तथा गुनासो आएको उनले बताए ।
त्यस बहेक हेलो सरकारको सामाजिक सञ्जाल फेसबुक, एक्स, भाइबर, अन्तर्राष्ट्रिय कल, आवेदनमार्फत पनि गुनासो तथा उजुरी आउने गरेको छ ।
उजुरीको विषयवस्तु प्रष्ट नभएको १९ हजार ८१५ थान भने दर्ता नै नगरी हटाइएको उनले बताए । ५२ हजार ४३७ थान उजुरीको संख्यामा उक्त संख्या भने समावेश छैन ।
यसरी हेलो सरकारमा आउने गुनासो सम्बोधन गर्न हेलो सरकारले सम्बन्धित कार्यालयमा पत्राचार गरिदिने वा जानकारी गराइदिने मात्र गरिरहेकोले अब भने हेलो सरकार डेस्कमा मात्र नबसेर फिल्डमै गोप्य अप्रेसन गर्न थालेको छ ।