
वात्सल्य नेचुरल आईभीएफ प्रालिले पोखरामा वात्सल्य पोखरा क्लिनिक सञ्चालनमा ल्याएको छ ।
कास्की र आसपासका जिल्लाहरूमा सहज प्रजनन सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिकको स्थापना गरिएको कम्पनीले जनाएको छ ।
पोखरास्थित क्लिनिकबाट आईयूआई (इन्ट्रा युटेराइन इन्सेमिनेसन) सेवा उपलब्ध हुनुको साथै प्रजनन जाँच, प्रसूतिपूर्वका सम्पूर्ण हेरचाह, ओवुलेसन इन्डकसनजस्ता विभिन्न अत्याधुनिक प्रजनन उपचारका सेवा प्राप्त गर्न सकिनेछ ।
क्लिनिकको उद्घाटन समारोहमा आयोजित 'विज्ञसँग नि:सन्तानपनको बुझाइ, चुनौती र समाधान' शीर्षकमा विशेष छलफल भएको थियो ।
प्रजनन विशेषज्ञ डा. आकृति भारती, मनोचिकित्सक डा. निर्मल लामिछाने, अभिनेत्री प्रियंका कार्की र मिस नेपाल २०२४ आश्माकुमारी केसी सहभागी थिए ।

प्रजनन विशेषज्ञ डा. भारतीले आईभीएफलाई समाजले हेर्ने दृष्टिकोणमा उल्लेख्य परिवर्तन भएको बताइन् । 'समाजमा आईभीएफ र प्रजनन उपचारलाई लिएर एक सकारात्मक सोचको विकास भएको छ । यसले परिवारको आवश्यकतामा मद्दत पुर्याउँछ,' उनले भनिन् ।
मनोचिकित्सक डा. लामिछानेले यस प्रक्रियामा मनोवैज्ञानिक समर्थनको महत्त्वलाई जोड दिए । 'बाँझोपनको समस्याबाट गुज्रिरहेका दम्पतीलाई भावनात्मक र मनोवैज्ञानिक सल्लाह र समर्थन आवश्यक छ । जसको समाधान, विकल्पसँगै परामर्श महत्त्वपूर्ण हुन्छ,' उनले भने ।
यस्तै, अभिनेत्री प्रियंका कार्कीले नि:सन्तानपन तथा आईभीएफका विषयमा जति कुरा गर्यो उति सहज हुने बताइन् ।
मिस नेपाल २०२४ केसीले आमा बन्ने समय उमेरसँगै एग फ्रिजिंगबारेमा सहउमेरका साथीमाझ कुराकानी हुन सामान्य भइसकेको बताइन् ।

कास्की र आसपासका नि:सन्तान दम्पतीले पोखरामा क्लिनिक सेवा लिनुका साथै निःसन्तानपन समस्याको निदानसहित विज्ञ स्वास्थ्यकर्मीबाट विश्वस्तरीय सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौं नक्सालस्थित वात्सल्य नेचुरल आईभीएफले ललितपुर, भक्तपुर, बुटवल, चितवन र नेपालगञ्जबाट वात्सल्य क्लिनिकमार्फत सेवा प्रदान गरिरहेको छ ।