२६ जेठ २०८३, मंगलबार

निलम्बित मुख्य सचिव अर्यालसहितको भ्रष्टाचार मुद्दामा अमेरिकाबाट भर्चुअल सुनुवाइ [भिडियो]

कात्तिक १२, २०८१
काठमाडौं
निलम्बित मुख्य सचिव अर्यालसहितको भ्रष्टाचार मुद्दामा अमेरिकाबाट भर्चुअल सुनुवाइ [भिडियो]

निलम्बित मुख्य सचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा अमेरिकाबाट भर्चुअल सुनुवाइ भएको छ ।

अमेरिकाको कान्सास राज्यबाट प्रतिवादीद्वय सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमको तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले सोमबार बिहान साढे १० बजे भर्चुअल माध्यमबाट बहस गरेका हुन् ।

अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीशहरू  डा. खुशीप्रसाद थारू र रितेन्द्र थापाको संयुक्त इजलासमा अमेरिकाबाट बहस तथा छलफल एवं सुनुवाइ भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जनाएका छन् ।

अन्त:शुल्कको स्टिकर छपाई सम्बन्धमा दायर गरिएको मुद्दामा गत कात्तिक ५ गतेदेखि हेर्दाहेर्दैमा राखी सुनुवाइ भइरहेको छ । सोही क्रममा सोमबार अमेरिकाबाट भर्चुअल सुनुवाइ भएको हो ।

विशेष अदालतले देशका विभिन्न जिल्लाहरूबाट र विदेशबाट समेत साक्षी बकपत्र भर्चुअल माध्यमबाट गरी प्रभावकारी रूपमा सेवा प्रदान गरिँदै आएको रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा (५) बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयानसमेत भर्चुअल माध्यमबाट गरिँदै आएको छ । सुर्खेत, झापा जिल्ला लगायतबाट सम्बन्धित जिल्लाका जिल्ला अदालतसँग समन्वय गरी प्रतिवादीहरूको बयान गराई थुनछेक बहस र आदेशसमेत भर्चुअल माध्यमबाट गरी सहज रूपमा सेवा प्रदान गर्दै आएको बेहोरा अवगत गराइन्छ । भर्चुअल सुनुवाइको सेवा जनकपुर लगायतको स्थानबाट कानून व्यवसायीहरूले लिँदै आएको छ,' विज्ञप्तिमा उल्लेख छ ।

'छिटो छरितो न्याय सबैका लागि न्याय' भन्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको प्रस्तावनालाई साकार पार्न विशेष अदालतले न्यायमा सहज पहुँचका प्रविधिहरूको प्रभावकारी प्रयोग गर्दै आएको छ ।

'परिणामस्वरूप यस अदालतले गत आर्थिक वर्ष  २०८०/०८१ मा ८८ प्रतिशत मुद्दाको फर्छ्यौट गरी कानूनले तोकेको म्याद ६  महिनाभित्रै मुद्दाको कारवाही र किनारा गर्न पूर्ण रूपमा सफल भएको छ । यसका लागि सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गर्ने नीति र कार्यक्रम अघि सारिएको छ,' विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २०८० जेठ १५ गते भर्चुअल सुनुवाइ पद्धतिको शुभारम्भ गरेका थिए ।

भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्