इराकले इजरायली सेनाले शनिबार इरानमा आक्रमण गर्दा आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ ।
सोमबार एक वक्तव्य जारी गर्दै इराक सरकारका प्रवक्ताले संयुक्त राष्ट्रसंघमा इजरायलले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको भन्दै विरोधपत्र पठाइएको जानकारी दिएका छन् ।
प्रवक्ता बासिम अलावदीले जारी गरेको वक्तव्यमा भनिएको छ, 'इराक सरकारले आफ्नो सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति दृढ प्रतिबद्धता दोहोर्याउँछ । छिमेकी राष्ट्रहरूसँग सम्मान र हितको आदानप्रदान रहेको अवस्थामा इराकले आफ्नो हवाई क्षेत्र वा भूमि अन्य राष्ट्रहरूमा आक्रमण गर्न प्रयोग हुन दिनेवाला छैन ।'
शनिबार इजरायलले इरानभित्र सैन्य अड्डाहरूमा आक्रमण गरेको पुष्टि गरेको थियो । एक महिनाअघि इरानले गरेको आक्रमणको जवाफ दिने क्रममा इरानी सैन्य अड्डाहरूमा हवाई हमला गरेको इजरायलको भनाइ छ ।
यसले लामो समयदेखि चलिरहेको दुई शक्तिशाली सेनाबीचको तनाव पुनः बढेको छ र क्षेत्रीय युद्धको खतरा निम्त्याउन सक्ने अन्तर्राष्ट्रिय समुदायको चिन्ता छ ।
इराकको हवाई क्षेत्र प्रयोग गरेको प्रश्नमा इजरायली सेनाले कुनै प्रतिक्रिया दिन नसकिने जनाएको छ ।
यसअघि इरानले पनि इजरायलले इराकको हवाई क्षेत्र प्रयोग गरेर आक्रमण गरेको दाबी गरेको थियो र अमेरिकालाई समेत दोष लगाएको थियो ।
अमेरिकाले भने यस आक्रमणको जानकारी दिएको तर प्रत्यक्ष संलग्न नभएको बताएको छ ।
इराक सरकारको वक्तव्यअनुसार प्रधानमन्त्री मोहम्मद सिया अल सुडानीले विदेश मन्त्रालयलाई अमेरिकी अधिकारीहरूसँग यस विषयमा छलफल गर्न निर्देशन दिएका छन् ।