२१ असार २०८३, आइतबार
अपराधमा प्रहरीकै मिलेमतो

प्रहरीकै मिलेमतोमा यसरी भएको थियो हनीट्र्याप, अख्तियारका एसपीको जिम्मेवारी खोसियो

कात्तिक १६, २०८१
काठमाडौं
प्रहरीकै मिलेमतोमा यसरी भएको थियो हनीट्र्याप, अख्तियारका एसपीको जिम्मेवारी खोसियो

युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा अहिले एक सहायक हवल्दारसहित चारजना ललितपुर प्रहरीको हिरासतमा छन् । 

गत असोज ९ गते पक्राउ परेका प्रहरी प्रभाग भैँसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल, सुनसरी इटहरिकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि जिल्ला प्रहरी परिसर ललितपुरले आपराधिक लाभ र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकामध्ये हमालमाथि युवतीको प्रयोग गरेर व्यवसायीबाट असुल गरिएको रकम दुईपटक गरी आफैंले बैंकमा जम्मा गरेको आरोप छ । 

त्यस्तै, हनीट्र्यापमा प्रयोग भएकी युवती हुन्, सुष्मा विक । विकको सहयोगी हुन्, ताज स्लाम । स्लाम र विककै योजनामा व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने भन्दै रकम डिल गरेको आरोप छ । व्यवसायीबाट यो गिरोहले ३० लाख रुपैयाँ असुल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

असुल गरिएको रकम भने भीमादेवीको खातामा जम्मा गरिएको पाइएको छ ।

घटनाबारे सबै जानकार हुँदाहुँदै पनि मोटो रकम पाउने आश्वासनमा ललितपुर भैँसेपाटी प्रभागकी इन्सपेक्टर विनु शाहीले पीडकलाई साथ दिएको पाइएपछि उनलाई जिम्मेवारीबाट हटाइएको थियो ।

उनीमाथि प्रहरीको अनुरोधमा ललितपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ । शाहीसँगै हनीट्र्यापमा संलग्न भएको आरोपमा इटहरिका दर्शन पोखरेल पनि फरार छन् । 

ललितपुर प्रहरीका प्रमुख एसएसपी शेखर खनालले फरार इन्सपेक्टर शाहीको खोजी कार्य भइरहेको बताए । उनले भने, ‘पक्राउ परेकामाथि आपराधिक लाभ र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । शाहीको खोजी भइरहेको छ ।’ 

व्यवसायी कसरी परे हनीट्र्यापमा ?

ललितपुर प्रहरीका अनुसार हिरासतमा रहेकी सुष्मा सुनसरीकै एक होटलमा वेटरको रूपमा काम गर्दै आएकी थिइन् । होटलमा आउजाउका क्रममा एक व्यवसायीसँग उनको चिनजान भयो । दुवैजना नजिकिए । 

व्यवसायीसँग सुष्माको सम्बन्धबारे थाहा पाएपछि ताज र दर्शनले सुष्मालाई प्रयोग गरेर रकम असुल्ने योजना बनाए । व्यवसायीविरुद्ध बलात्कार मुद्दा हाल्ने भन्दै सुष्मासँग छलफल गरे । सुष्माले योजनाअनुसार व्यवासायीलाई आफ्नो सम्बन्धको बारेमा बताइन् । सम्बन्ध बाहिर नल्याउने तर, त्यसका लागि ३० लाख रुपैयाँ दिनुपर्ने उनीहरूको शर्त थियो 

व्यवसायीले आफूसँग त्यति रकम नभएको बताएपछि सुष्मा काठमाडौं फर्किइन् । ताज र दर्शनलाई भेटिन् । व्यवसायीलाई पुनः फोन गरेर ‘भैँसेपाटी प्रभागमा तपाईंविरुद्ध बलात्कार मुद्दा दर्ता गर्ने भइयो’ भन्दै सुष्माले फोन घुमाइन् । शुरूमै बलात्कारको जाहेरी दिँदा मुद्दा कमजोर हुने देखिएपछि शान्ति सुरक्षा गरिपाऊँ भन्दै व्यवसायीविरुद्ध भैँसेपाटी प्रभागमा उजुरी दिएको देखिन्छ । त्यही बीचमा ताज भैँसेपाटी प्रभागकी तत्कालीन इन्सपेक्टर शाही र सहायक हवल्दार हमालसँग नजिकिएका थिए । 

व्यवसायीलाई भैँसेपाटी बोलाइयो । उनलाई पैसा नदिए बलात्कार मुद्दाको थप जाहेरी दिने भनेर धम्क्याइयो । लफडामा पर्नुभन्दा पैसा दिएर उम्कने योजनामा व्यवसायी पुगे । उनले दुईवटा चेक र रकम दिए । रकम भीमादेवीको खातामा जम्मा गरियो । आफूलाई फसाउने नियतले पैसा असुलेको भन्दै व्यवसायीले यस विषयमा प्रहरीको उपल्लो तहमै गुनासो गरे । अनि शुरू भयो ललितपुर परिसरबाट अनुसन्धान । 

जब अख्तियारका एसपी थापा जोडिए

सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका बेला एसपी कमल थापा र ताजबीच सम्बन्ध थियो ।

उनै एसपी थापामार्फत ताजले भैँसेपाटी प्रभागकी तत्कालीन इन्सपेक्टर शाहीसँग मिलेर व्यवसायीलाई फसाउने योजनाका साथ बार्गेनिङ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी थापा (हाल मुख्यालय तानिएका) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख भएका बेला इन्सपेक्टर विनुकुमारी शाही पनि कञ्चनपुरमै कार्यरत थिइन् । सोही चिनजानमा एसपी थापाको सिफारिसमा उनीहरू भैँसेपाटी पुगेको प्रहरीको दाबी छ । तर, पक्राउ परेका चारैजानाले शाहीसँग चिनजान नभएको बताएका छन् । 

ललितपुर परिसरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले एसपी कमल थापामाथि अनुसन्धान गर्न सुझाव दिएको छ । हनी ट्र्याप प्रकरणका मुख्य योजनाकार ताज र एसपी थापाबीच एकपटक फोनमा कुराकानी भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र ताज स्लामबीच भेटघाट भएको सीसीटीभी फूटेज समेत समितिले फेला पारेको छ । 

त्यतिमात्रै होइन, उनीहरूबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेस्टुरेन्टमा असोज ७ गते साँझ साढे ६ बजे भेट भएको फुटेज समेत समितिले प्राप्त गरेको थियो । 

निलम्बित शाहीको खोजी हुँदै

सुनसरीको घटना हो भन्ने थाहा हुँदाहुँदै कार्यक्षेत्र भन्दा बाहिरको घटनाको सम्बन्धमा जाहेरी लिएर व्यवसायीलाई हनीट्रयापमा पार्न मद्दत गरेको आरोप प्रहरी निरीक्षक विनु शाहीमाथि छ । उनले उपल्लोे तहमा घटनाको विषयमा जानकारी गराउनुको साटो उल्टै आरोपितलाई साथ दिएको पाइएको छ । अनुसन्धानका क्रममा रकम जम्मा गर्न लगाउनेदेखि मोबाइल समेत गायब बनाउने भूमिकामा शाहीको संलग्नता देखिएको प्रहरीले जनाएको छ । 

शाहीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । ललितपुर परिसरले पनि डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक इन्सपेक्टर शाहीले नै गायब पारेको निष्कर्ष निकालेको छ । त्यतिमात्रै नभएर १३ लाख र ७ लाख रुपैयाँ गरेर दुईपटकमा भीमाकुमारीको खातामा २० लाख रुपैयाँ रकम जम्मा भएको थियो ।

उक्त रकम जम्मा गर्न एभरेस्ट बैंकसम्म शाहीकै गाडी पुगेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्