भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र तथा भाजपा नेता अमित शाहलाई ओटावाले क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ ।
गृहमन्त्रीका रूपमा देशको आन्तरिक सुरक्षा बलको रेखदेख गर्ने शाहको बचाउ गर्दै नयाँ दिल्लीले शनिबार उक्त आरोपलाई ‘बेतुकको आधारहीन’ दावी भएको बताएको छ ।
भाजपामा मोदीपछिको दोस्रो शक्तिशाली व्यक्ति ६० वर्षीय शाहले दशकौँसम्म पार्टीमा एक वफादार नेताका रूपमा सेवा गरेका छन् । यद्यपि, भाजपा र उनका आलोचकहरूले शाहले कुनै समय शृङ्खलाबद्ध हत्याको योजना बनाएको आरोप पनि लगाउने गरेका छन् ।
मोदी र शाहबीचको स्थायी साझेदारीले उनीहरूको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दू–राष्ट्रवादी विश्वदृष्टिकोणलाई बलियो बनाएको छ।
मोदीलाई भाजपाको पछाडि जनतालाई परिचालन गर्ने चामत्कारिक अग्रनेता मानिन्छ भने शाहलाई अधीनस्थहरूलाई लाइनमा राख्ने प्रवर्तनकर्ताको रूपमा हेरिन्छ।
“पार्टीमा अहिले नरेन्द्र मोदी र २० वर्षभन्दा बढी समयदेखि मोदीको विश्वासपात्र (दाहिने हात) अमित शाहको पनि पूर्ण प्रभुत्व छ,” राजनीतिशास्त्री तथा भारतका विज्ञ क्रिस्टोफ जाफरलोटले भने ।
दुवै जनाले आफ्नो राजनीतिक जीवन पश्चिमी राज्य गुजरातको सबैभन्दा ठूलो शहर अहमदाबादबाट सुरु गरेका थिए । गुजरातमा मोदीले आफूभन्दा १४ वर्ष कान्छा शाहलाई पार्टीमा आफ्नो अभिन्न अङ्गका रूपमा लिएका थिए ।
सन् २००२ मा स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा खराब धार्मिक हिंसाको चपेटामा परेको बेला मोदी गुजरातका मुख्यमन्त्री थिए भने शाह सांसद थिए । उक्त बर्ष दर्जनौँ हिन्दू तीर्थयात्रीको ज्यान जाने गरी रेलगाडीमा आगलागी भएको घटनापछि भड्केको धार्मिक हिंसामा कम्तीमा एक हजार मानिसको मृत्यु भएको थियो। झडपमा मृत्यु हुनेमा अधिकांश मुश्लिम धर्मावलम्बी रहेका थिए भने यसका लागि भारतीय यिनै दुई नेता जिम्मेवार रहेको उनीहरूका आलोचकले दावी गर्ने गरेका छन् ।