
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर संयुक्त राज्य बेलायत प्रस्थान गरेका छन् । इन्टरपोलको ९२औँ महासभामा सहभागी हुन उनी आज (आइतबार) बिहान बेलायत प्रस्थान गरेका हुन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने महासभामा सहभागी हुन कुँवर बेलायततर्फ प्रस्थान गरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहसमेत बेलायत प्रस्थान गरेका छन् ।
उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाइ गरे ।
इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयमा मतदानद्वारा निर्णय गर्ने प्रावधान छ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।