कुनै बेला बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न एक सन्तान मात्र जन्माउने नीति लिएको चीनलाई अहिले जनशक्ति अभावले सताउन थालेको छ । चीनले सन् १९८० देखि एक सन्तान नीति लागू गरेको थियो । तर, अहिले त्यही नीतिका कारण जनशक्ति अभाव हुन थालेपछि चीन सरकार तनावमा परेको छ ।
चीनमा एक सन्तान नीति खारेज गरेर दुई सन्तान नीति लागू गरेपछि पनि जनसंख्या वृद्धिदरमा उल्लेख्य बढोत्तरी भएन । त्यसपछि सरकारले तीन सन्तान नीति लागू गरेको छ । तर यसले पनि चिनियाँ दम्पतीहरूमा सन्तान जन्माउने खासै रुचि देखिएको छैन ।
जनसङ्ख्याको अभावलाई सम्बोधन गर्न चिनियाँ सरकारले जनसङ्ख्या वृद्धिका लागि चालेका उपाय प्रभावकारी हुन सकेका छैनन् ।
चीनको नागरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्याङ्कले चीन यतिबेला जनसंख्याको कमीसँग संघर्ष गरिरहेको देखाउँछ । तथ्यांकअनुसार सन् २०२४ को पहिलो नौ महिनामा विवाह दर्तामा उल्लेख्य कमी आएको छ ।
मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ मा चीनमा पहिलेको तुलनामा कम मानिसहरूले विवाह गरिरहेका छन् । जनवरी र सेप्टेम्बर २०२४ को बीचमा यहाँ करिब ४.७४७ मिलियन दम्पतीले आफ्नो विवाह दर्ता गरेका थिए । विवाह दर्ताको यो संख्या २०२३ को यी महिनाहरूमा भएको दर्ताको तुलनामा ९ लाख ४३ हजारले कम हो ।
२०२३ को पहिलो नौ महिनामा लगभग ५.६९ मिलियन जोडीहरूले विवाह गरेका थिए, जुन २०२२ मा भन्दा बढी हो ।
यस वर्षको शुरूमै चीनले लगातार दोस्रो वर्ष जन्मदरमा गिरावट आएको रिपोर्ट गरेको थियो । सरकारले ठूला शहरहरूमा युवाहरूलाई विवाह गर्न र बच्चा जन्माउन प्रोत्साहन गर्ने परियोजनाहरू र कार्यक्रमहरू शुरू गरेको थियो । यसको उद्देश्य परिवार हुर्काउनको लागि थप सहयोगी वातावरण सिर्जना गर्नु र बच्चा जन्माउनेलाई आकर्षक बनाउने संस्कृतिलाई बढावा दिनु थियो ।
विवाहमा आएको गिरावटप्रति चिनियाँ सरकार चिन्तित देखिएको छ । धेरै चिनियाँ युवाहरूले आफ्नो भविष्य, जागिरको सुरक्षा र जीवनयापनको बढ्दो लागतको चिन्ताका कारण विवाह गर्न ढिलाइ गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसलाई सुधार गर्न चीन सरकारले हालै विवाह दर्ता गर्न सजिलो र सम्बन्धविच्छेद गर्न गाह्रो बनाउन कानुन संशोधन गरेको छ । सन् २०२४ को पहिलो नौ महिनामा करिब १९ लाख ७० हजार सम्बन्धविच्छेद दर्ता भएका थिए । तर, गत वर्षको तुलनामा यस वर्ष ६ हजारले घटेको छ ।
राष्ट्रपति सी जिनपिङलगायत चिनियाँ नेताहरूले विवाह र युवाहरूलाई आकर्षित गर्ने वातावरण बनाउन खोजिरहेका छन् । राष्ट्रपति जिनपिङले महिलाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरूले परिवारको नयाँ प्रवृत्ति स्थापना गर्नुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा हालसम्म कुनै मुलुकले नव्यहोरेको जनसङ्ख्या गिरावट अहिले चीनले खेपिरहेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार यस शताब्दीको अन्त्यसम्म चीनको जनसङ्ख्या आधाले घट्ने छ । हाल चीनकोजनसङ्ख्या १ अर्ब ४० करोड रहेको बताइन्छ ।
गत वर्ष लगातार दोस्रो पटक चीनको जनसङ्ख्या घटेको थियो। हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टकाअनुसार चीनको जनसङ्ख्या २० लाखले घटेको छ ।
जनसंख्या ह्रासले ‘काम गर्ने उमेर समूह’मा कमी आउने र त्यसले आर्थिक वृद्धिलाई बाधा पुर्याउन सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् ।