२३ जेठ २०८३, शनिबार

प्रधानमन्त्री पत्नी आरजु चुनाव लडेको कैलालीमा चुनावी सरगर्मी बढ्दो

कात्तिक २२, २०७४
प्रधानमन्त्री पत्नी आरजु चुनाव लडेको कैलालीमा चुनावी सरगर्मी बढ्दो

– सिद्धराज भट्ट 
धनगढी, २२ कात्तिक -आगामी मंसिर २१ गते हुने निर्वाचनका प्रत्याशीले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाउँदा कैलाली जिल्ला निर्वाचन क्षेत्र ५ को चुनावलाई सर्वसाधारणले बढी चासोका रुपमा हेर्न थालेका छन् । 

यो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका नेत्री डा आरजु राणा देउवाको उम्मेदवारीसँगै यो क्षेत्रको निर्वाचनलाई सर्वसाधारणले उत्सुकतापूर्वक हेर्न थालेका हुन् । 

कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र) सुदूरपश्चिम ७ नम्बर प्रदेशको मुख्य व्यापारिक केन्द्रका साथै एक मात्र उपमहानगरपालिका रहेकाले पनि यो क्षेत्रको निर्वाचनलाई बढी चासोको रुपमा हेर्न थालिएको हो । 

चिया पसल, सार्वजनिक स्थलमा जम्मा हुने नेता तथा कार्यकर्ता आउँदो चुनावमा डा आरजुु र वाम गठबन्धनबाट प्रत्याशी बनेका नेकपा एमालेका नारदमुनि रानाको चुनावी जोड घटाउ गरेर आ–आफ्नो पक्षको जित हुने दाबी गरिरहेका देखिन्छन् । 

चुनावमा राजनीतिक वाद र सिद्धान्तभन्दा योग्यता र जनताको पक्षमा काम गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई मतदाताले रुचाउने स्थानीय मतदाता रामदिन चौधरीले बताउनुभयो । 

चुनावलाई लक्ष्य गरी नेकाँ कैलालीले चुनावी रणनीतिसहित सबै निर्वाचन क्षेत्रमा प्रचारप्रसार थालेको छ । वाम गठबन्धनले पनि सबै क्षेत्रमा चुनावी प्रचारप्रसार समिति गठन गरेर तयारीलाई तीव्र पारेको छ । 

विसं २०५४ को स्थानीय चुनावमा धनगढी नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभएका नारदमुनि पहिलो संविधानसभाको चुनावमा एमालेको समानुपातिक सभासद्समेत हुनुहुन्थ्यो । 

संविधान सभामा यसअघि काँग्रेसको समानुपातिक सांसद रहनुभएका नेत्री राणा पहिलो पटक प्रत्यक्ष चुनावमा होमिनुभएको हो । 

दोस्रो संविधानसभाको निर्वाचनमा गृह जिल्ला डडेल्धुराका साथै कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)बाट काँग्रेस सभापति शेरबहादुर देउवा ठूलो मतान्तरले विजयी हुनुभएको थियो । पछिल्लो स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरको प्रमुखमा काँग्रेसले १४ हजार ३२४, नेकपा माओवादी केन्द्रले १० हजार २०९ र नेकपा एमालेले नौ हजार ९४६ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाउनुभएको थियो । 

यो आधारमा अहिले बनाइएको वाम गठबन्धनको मत जोड्दा काँग्रेसले पाएको मत भन्दा झण्डै छ हजार मत बढी रहेको अवस्थामा मुख्य प्रतिष्पर्धा कांग्रेसका डा राणा र वाम गठबन्धनका राना थारुबीच नै हुने विश्लेषण एकथरीको छ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेको पछिल्लो राजनीतिक परिस्थिति रहेको अवस्थामा उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार हमालले पाएको मत जसले आफूतिर तान्न सक्यो उसैको पल्ला भारी हुने अर्काथरी मतदाताको विश्लेषण छ । 

धनगढी उपमहानगरका १९ वडा र कैलारी गाउँपालिकाका दुई वडा समेटेर बनाइएको निर्वाचन क्षेत्र ५ को मतदाता संख्या ९१ हजार ८१८ रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्