१० साउन २०८३, आइतबार

बीपीका जेठा छोरा प्रकाशको घरमा कोइरालाहरूको जमघट

कात्तिक १९, २०८१
काठमाडौं
बीपीका जेठा छोरा प्रकाशको घरमा कोइरालाहरूको जमघट

तिहारको भाइटीकामा बीपी कोइरालाका जेठा छोरा प्रकाशको घरमा कोइराला परिवारबीच जमघट भएको छ । भाइटीकाको दिन कोइराला परिवारका सदस्यबीच प्रकाशको धुम्बाराहीस्थित रहेको घरमा जमघट भएको हो । 

गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले बीपीपुत्र प्रकाश, श्रीहर्ष, शशांक र केशव–नोनापुत्र डा. शेखर कोइरालालाई भाइटीका लगाइदिएकी हुन् । 

सुजाताले आफ्नै निवासमा कोइराला परिवारका सदस्यलाई निम्त्याएर भाइटीका लगाइदिएकी हुन् । 

भाइटीका र कोइराला परिवारको फोटो शेयर गर्दै सुजाताले सबै दाजुलाई भाइटीकाको शुभकामना व्यक्त गरेकी छिन् । 

यो जमघटमा प्रकाशकी छोरी मनीषा कोइराला पनि सहभागी छिन् । 

पछिल्लो दुई महाधिवेशनमा राजनीतिक रूपमा कोइराला परिवार एउटै कित्तामा उभिएका थिएनन् । तर पारिवारिक जमघट गरेर उनीहरूले पटक-पटक आफूहरू मिल्ने बताउँदै आएका छन् । 

धुम्बाराहीमा भएको भाइटीका कार्यक्रममा कुनै राजनीतिक कुराकानी भने नभएको कोइराला परिवार निकट स्रोतले बतायो । 

‘तिहारको अवसरमा भाइटीकाको दिन भेट्ने टीका लगाउने कार्यक्रम मात्रै भएको हो,’ कोइराला परिवार निकटकै एक स्रोतले भन्यो, ‘सामान्य राजनीतिक कुराकानी त भइहाल्छन् । तर यस अघि जस्तो सन्देश नै दिने गरी राजनीतिक कुराकानी भएन ।’

बीपी कोइरालाका तीन छोरामध्ये जेठा प्रकाश र माइला श्रीहर्ष राजनीतिमा छैनन् ।

बीपीका कान्छा छोरा शशांक, केशव–नोनापुत्र शेखर र गिरिजापुत्री सुजाता मात्रै कांग्रेसको राजनीतिमा छन् । यसमा पनि सुजाता पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्