
मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकनले सिनेटको नियन्त्रण आफ्नो हातमा लिन सफल भएको छ ।
रिपब्लिकनले कम्तिमा दुई डेमोक्र्याटिक सिट खोसेको छ भने आफ्ना कमजोर सांसदहरूको सिट सुरक्षित राख्न सफल भएको छ । यसले सिनेटमा चार वर्षदेखिको डेमोक्र्याटिक बहुमतको अन्त्य भएको छ ।
ओहायोका डेमोक्र्याट सिनेटर शेरोड ब्राउनलाई रिपब्लिकनले हराएका छन् । पार्टी नेताहरूले रिपब्लिकनको बलियो आधार रहेको राज्यमा पनि उनलाई सफलता प्राप्त गराउन सकिने आशा गरेका थिए ।
तर, ब्राउनको चौथो कार्यकालका लागि गरिएको उम्मेदवारीमा उनले पराजय व्यहोरेका हुन् ।
उनलाई पराजित गर्ने रिपब्लिकन उम्मेदवार बर्नी मोरेनो एक विलासी कार डिलर हुन् । यससँगै पश्चिम भर्जिनियाका गभर्नर जिम जस्टिसले सजिलैसँग सिनेटर जो म्यान्चिन तृतीयले छोडेको सिट जितेका छन् । म्यान्चिनले आफ्नो करिअरको अधिकांश समय सिनेटमा डेमोक्र्याटको रूपमा बिताएपछि यस वर्ष स्वतन्त्र बन्ने निर्णय गरेका थिए ।
यी दुई महत्वपूर्ण सिट गुमाएपछि डेमोक्र्याटहरूको ५१-४९ को बहुमत उल्टिएको छ । रिपब्लिकन सिनेटर डेभ फिशरले स्वतन्त्र उम्मेदवार ड्यान ओस्बर्नको चुनौतीलाई पराजित गरेपछि रिपब्लिकनको पकड बलियो भएको हो ।
पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको स्विङ स्टेटमा प्रभावकारी प्रदर्शनका कारण रिपब्लिकनहरूको अभियानलाई फाइदा पुगेको विश्लेषण गरिएको छ ।
अब रिपब्लिकनले विस्कन्सिन, पेन्सिल्भेनिया र मिशिगनमा जारी प्रतिस्पर्धा र मोन्टानामा रहेको आफ्नो अग्रताका कारण नयाँ बहुमतलाई अझ बलियो बनाउन सक्ने सम्भावना छ ।
शीर्ष रिपब्लिकन नेताहरूले आफ्नो यो सफलतालाई देशका लागि ठूलो अवसरका रूपमा चित्रण गरेका छन् ।
यससँगै उनीहरूले आगामी वर्ष नीति निर्माणमा प्रमुख भूमिका खेल्ने अपेक्षा गरेका छन् । रिपब्लिकन सिनेटका तेस्रो प्रमुख नेता जोन बरासोले भने, 'मतदाताहरूले असाधारण हिसाबले विश्वास गरेका छन् । रिपब्लिकन बहुमत भएको सिनेटले अमेरिकाका प्राथमिकताहरूलाई सम्बोधन गर्नेछ । यसका लागि सिनेट मूल्यवृद्धि कम गर्ने, खर्च कटौती गर्ने, सीमा सुरक्षामा ध्यान दिने र अमेरिकी उर्जा प्रभुत्वमा केन्द्रित हुनेछ ।'
यसैबीच न्युयोर्कका डेमोक्र्याटिक सिनेटर चक शुमरको नेतृत्वमा रहेको बहुमत गुमाउनु डेमोक्र्याटहरूको लागि ठूलो निराशा बनेको छ ।
ट्रम्पले पटकपटक कब्जा गरेका राज्यहरूमा सिट सुरक्षित गर्नु डेमोक्र्याटहरूको लागि कठिन देखिएको हो ।
सिनेटको नियन्त्रणका लागि गरिएको प्रतिस्पर्धा मुख्यतया ओहायो र मोन्टानामा केन्द्रित थियो, जहाँ यी दुई डेमोक्र्याटिक सिटहरू रिपब्लिकनले जितेका छन् ।
यद्यपि, डेमोक्र्याटले पनि केही संकटग्रस्त सिटहरू सुरक्षित गर्न सफल भएका छन् । मेरिल्यान्डमा एन्जेला अल्सोब्रुक्सले जित हासिल गर्दै राज्यको पहिलो 'काला जाति'की महिला सिनेटर बन्ने अवसर प्राप्त गरेकी छन् । त्यस्तै डेलावेयरमा प्रतिनिधि लिसा ब्लन्ट रोचेस्टरले पनि जीत हात पारेकी छन् ।