
ठूलो स्विङ स्टेट पेन्सिलभेनिया जितेसँगै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा विजयी हुने लगभग पक्का भएको छ ।
राष्ट्रपतिका लागि सबैभन्दा महत्त्वपूर्ण मानिएको पेन्सिलभेनिया जितेपछि ट्रम्पप्रति मतदाताहरूको समर्थन अझ बलियो बनेको प्रमाणित भएको हो ।
सीएनएनका अनुसार ट्रम्पसँग हाल २६६ इलेक्टोरल भोटहरू छन् र ह्यारिससँग १८८ मात्रै । अब ट्रम्पले राष्ट्रपति पद जित्न थप चार इलेक्टोरल भोट मात्र जित्नुपर्छ।
साथै यसले उनको राजनीतिक पुनरागमनलाई एक ऐतिहासिक उपलब्धिका रूपमा स्थापित गर्न सक्ने संकेत गरेको छ ।
यो ट्रम्पको तेस्रो राष्ट्रपतीय चुनाव हो । यसअघि उनका आलोचकहरूले उनको अभियानलाई कमजोर ठानेका थिए । उनलाई विशेषगरी महिला मतदातालाई आकर्षित गर्न असफल भएको आरोप लागेको थियो ।
गर्भपतनसम्बन्धी मुद्दामा उनको धारणा महिला मतदाताका लागि पर्याप्त नहुने विश्लेषण गरिएको थियो । त्यस्तै, कतिपय विश्लेषकहरूले उनको संगठनात्मक आधार र चुनावी रणनीति कमजोर रहेको पनि बताइरहेका थिए ।
तर, यी सबै विश्लेषण र आलोचना सन्देहपूर्ण सावित भएका छन् । पेन्सिल्भेनियाको यो महत्वपूर्ण जितले ट्रम्पलाई अत्यन्त बलियो स्थितिमा पुर्याएको छ र पुनः उनी राष्ट्रपत बन्ने प्रष्ट भएको छ ।
अब कुनै पनि क्षण उनी मञ्चमा उपस्थित भएर आफ्नो विजयको घोषणा गर्न सक्ने सम्भावना छ ।
यदि अन्तिम परिणाममा उनी सफल भए भने यो अमेरिकाको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण अध्याय बन्ने अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका छन् ।