फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भीडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् ।
'अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,' उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुन:स्थापित भएकोतर्फ संकेत गर्दै भने ।
सीमा व्यवस्थापन गर्ने र देशलाई एकीकृत गर्दै अघि बढ्ने प्रतिबद्धता उनले जनाए । उनले अमेरिकालाई 'सुनौलो युग'तर्फ लैजाने वाचा गरे । ट्रम्पले भने, 'हरेक दिन म तपाईंहरूका लागि लड्नेछु ।'
सम्बोधनका क्रममा उनले आफ्नी श्रीमती मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिए ।
सम्बोधनका क्रममा उनले अमेरिकी धनाढ्य व्यक्ति इलोन मस्कप्रति समेत आभार व्यक्त गरे ।
उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन् ।
मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन, तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जीतको नजिक पुगेको जनाइरहेका छन् ।
नेपाली समय अनुसार बुधबार मध्यान्नसम्ममा रिपब्लिकन नेता ट्रम्पले मंगलबार खसेको कुल मतको ५१.१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४७.२ प्रतिशत मत प्राप्त गरेकी छन् ।
रिपब्लिकन नेता ट्रम्पले २६६ इलेक्टोरल मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी ह्यारिसले २१९ इलेक्टोरल मत प्राप्त गरेकी छन् ।
यसरी हेर्दा ट्रम्पलाई राष्ट्रपति पदमा जीतका २७० मा पुग्न अब मात्र चार इलेक्टोरल मत आवश्यक हुनेछ । अमेरिकी समाचार संस्था फक्स न्यूजले ट्रम्प निर्वाचित भएको घोषणा गरेको छ ।
फक्स न्यूजले ट्रम्पलाई २७० भन्दा माथि थप केही सीट प्राप्त हुने जनाएको छ ।