२६ असार २०८३, शुक्रबार

हिमाली जिल्लामा पनि छठको रौनक

कात्तिक २२, २०८१
म्याग्दी
हिमाली जिल्लामा पनि छठको रौनक

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् ।

बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले आज साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिए ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्‌भावको सन्देश दिएको छ । उनीहरूले भोलि उदाउँदो सूर्यलाई अर्घ दिनेछन् ।

नुहाइ धुवाई शुद्ध वस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा व्यवसाय गर्दै आएका सञ्जय ठाकुरले बताए । नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरूले सूर्यलाई अर्घ चढाएका थिए ।

उनीहरूले ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदिको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलबासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए ।

म्याग्दीमा विक्रम संवत् २०७७ देखि छठ मनाउन शुरू गरिएको हो ।

सरकारले २०७६ साल फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्