
संयुक्त अरब इमिरेट्स (यूएई)ले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा गाजा पट्टीबाट बालबालिका तथा क्यान्सरका बिरामीसहित गम्भीर घाइते भएका ८६ जना बिरामीहरूलाई उपचारका लागि मानवीय पहल गरेको छ ।
उनीहरू परिवारका १२४ जना सदस्यहरूसँगै इजरायलको रामोन विमानस्थलबाट केरेम सालोम सीमा पार गर्दै चिकित्सकीय उपचारका लागि आबुधाबी पुगेका थिए ।
विकास तथा अन्तर्राष्ट्रिय सङ्गठनका लागि विदेश मामिला सहायकमन्त्री मोहम्मद अल शम्सीले पहलले संयुक्त अरब इमिरेट्स र डब्लूएचओको सहकार्यको स्थरलाई प्रतिबिम्बित गर्दै गाजामा मानवीय विपत्तिको बीचमा भाइचाराले सहयोग गर्ने संयुक्त अरब इमिरेट्सको प्रतिबद्धताको उदाहरण पेश गर्ने बताए ।
अल शम्सीले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय साझेदार र राहतका लागि काम गर्दै आएका संस्थाहरूसँगको सहकार्यमा दृढ रहेको बताउँदै घाइते तथा गम्भीर रोगबाट पीडितलाई स्वास्थ्य सेवा प्रदान गर्न अग्रणी भूमिका जारी राख्ने बताएका छन् ।
यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले देशका अस्पतालमा एक हजार घाइते तथा क्यान्सर पीडित प्यालेस्टिनी बिरामीको उपचार शुरू गरेको बताए ।
उनका अनुसार यो पहलमा अहिलेसम्म दुई हजार १२७ जना बिरामीरूलाई संयुक्त अरब इमिरेट्समा सारिएको छ ।
सन् २०२३ डिसेम्बर २ मा यूएईले बिरामी तथा गम्भीर घाइते प्यालेस्टिनीलाई स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास शुरू गरेदेखि हालसम्म यूएईका अस्पतालमा ५० हजार ४८९ सङ्क्रमितको उपचार भएको जनाइएको छ ।
यूएईले प्यालेस्टिनी जनतालाई खाना, चिकित्सा र राहत आपूर्तिसहित ४३ हजार टनभन्दा बढी सहायता प्रदान गरेको जनाएको छ ।