
कोशी प्रदेशका दुई मन्त्रालय मन्त्रीविहीन भएका छन् । मानव तस्करीको गम्भीर आरोप लागेपछि आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएसँगै कोशीमा दुई मन्त्रालय खाली भएका हुन् । स्वास्थ्य मन्त्रालय भने पहिलेदेखि नै खाली थियो ।
एमाले र कांग्रेसको नयाँ समीकरणसँगै कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार बनेपछि स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको थियो । कांग्रेसकै आन्तरिक विवादका कारण मन्त्री नियुक्त हुन सकेको छैन ।
कांग्रेस भित्रको आन्तरिक भागबन्डामा स्वास्थ्य मन्त्रालय संस्थापनइतर समूहको भागमा परेको थियो । तर, इतर समूहले २ वटा मन्त्रालय चाहिने अडान राखेपछि लामो समयदेखि स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन बनेको हो । मन्त्रालयको जिम्मेवारी भने कांग्रेसकै भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सम्हालेका छन् ।
तर, मुख्यमन्त्री कार्की भने दुवै मन्त्रालयमा छिट्टै मन्त्री नियुक्त हुने बताउँछन् । रिक्त भएको आन्तरिक मामिला मन्त्रालयमा मन्त्रिमण्डलका एक जना सदस्यलाई जिम्मेवारी दिने मुख्यमन्त्री कार्कीले बताए । ‘आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजीनामा दिएपछि त्यो मन्त्रालय रिक्त भएको छ । त्यसमा तत्काल हामी भएकै मन्त्रिमण्डलमध्येबाट कसैले हेर्छाैँ,’ मुख्यमन्त्री कार्कीले भने, ‘अब ती दुई वटै मन्त्रालयमा सरकारमा सहभागी दलबीच सरसल्लाह गरेर चाँडै मन्त्री नियुक्त गर्छाैँ ।’
कांग्रेससमेत सरकारमा रहेकाले तत्काल निर्णय गर्ने अवस्थामा भने उनी छैनन् । विवादमा तानिएका निवर्तमान मन्त्री अधिकारीको विषयमा कांग्रेसले अहिलेसम्म केही बोलेको छैन । मुख्यमन्त्री कार्की पनि हेर र बसको अवस्थामा छन् ।
प्रदेश सरकार र मुख्यमन्त्रीलाई जानकारीसमेत नदिई अधिकारी कात्तिक १३ गते जापान उडेका थिए । उनीसँगै नक्कली परिचयपत्र बनाएका तीन व्यक्ति पनि जापान गएका थिए । लुकिछिपी जापान बस्ने योजनासहित गएका उनीहरूलाई टोकियो विमानस्थलबाटै डिपोर्ट गरिएपछि मन्त्री अधिकारीको पद फुस्केको हो ।
अधिकारीले आफूसँगै तीन जना नक्कली कागजात बनाएर जापान जान लागेको थाहा पाएपछि कार्यक्रममा सहभागी नभई नेपाल फर्किएको दाबी गरेका थिए । तर, उनी आफैं नेपाल फर्किएको नभई जापानको अध्यागमनले विमानस्थलमै २४ घण्टासम्म रोकेर डिपोर्ट गरेको पाइएको छ ।
काठमाडौं विमानस्थलमा ओर्लिएपछि तीन जनालाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो । मन्त्री अधिकारी भने विमानस्थलबाट सहजै बाहिरिएको पाइएको छ । उनीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खाली भएको मन्त्रालयमा एमालेका प्रमुख सचेतकसमेत रहेका प्रदेशसभा सदस्य रेवतिरमण भण्डारीले चासो देखाएका छन् । मुख्यमन्त्री कार्की काठमाडौंमा छन् । मुख्यमन्त्री फर्केपछि सल्लाह गरेर आन्तरिक मामिला मन्त्रालयमा मन्त्री पठाउने उनले बताए । ‘मुख्यमन्त्री काठमाडौं जानुभएको छ, उहाँ आएपछि शपथ ग्रहण होला,’ भण्डारीले भने, ‘अहिले नै सल्लाह चाहिँ भइसकेको छैन ।’