
छिमेकी मुलुक भारतले पछिल्लो समय प्राविधिक क्षेत्रमा ठूलो उन्नति गरिरहेको छ । सूचना प्रविधि, कृत्रिम बौद्धिकता, अन्तरिक्ष अनुसन्धान, दिगो ऊर्जा र रक्षा क्षेत्रमा भारतले उल्लेखनीय उपलब्धि हासिल गरेको हो ।
नवप्रवर्तन, अनुसन्धान र विकासमा बढ्दो लगानीले भारतलाई प्राविधिक क्षेत्रको अग्रणी राष्ट्रको रूपमा स्थापित गरिरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
समाचारमा जनाइएअनुसार हालै पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीले नयाँ दिल्लीमा भारतको पहिलो हरित हाइड्रोजन इन्धन सेल बस सार्वजनिक गरेका थिए । हाइड्रोजनबाट चल्ने बस हरित र स्वच्छ ऊर्जामा क्रान्तिकारी कदम भएको उनले बताए ।
बसको इन्धन सेलले हाइड्रोजन र हावालाई प्रयोग गरेर बिजुली उत्पादन गर्छ, जसले बसलाई शक्ति दिन्छ । डिजल र पेट्रोलबाट चल्ने परम्परागत बससँग तुलना गर्दा हाइड्रोजन बस सबैभन्दा वातावरणमैत्री यातायातको माध्यम रहेको मन्त्री पुरीको भनाइ थियो ।
बसलाई झन्डा देखाउँदै मन्त्री पुरीले स्वच्छ र हरित ऊर्जाका लागि सरकारले ल्याएको योजनाबारे जानकारी दिएका थिए । उनले भने, 'आउँदो दुई दशकमा हाइड्रोजन र अन्य नवीकरणीय इन्धनहरूले विश्वव्यापी ऊर्जाको माग २५ प्रतिशत हिस्सा ओगट्नेछन् । भारतले त्यसैको तयारी गरिरहेको छ ।'

हाइड्रोजन बसको शुरूआत भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेको भारत भ्रमणका बेलामा भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, 'प्रधानमन्त्री छिरिङ तोब्गे हरित हाइड्रोजन इन्धन सेल बसमा यात्रा गर्न पाउनुभएकोमा म एकदमै खुसी छु । यस्तो बस हाम्रो हरियाली भविष्य निर्माण गर्ने प्रयासको अंश हो ।'
छिटो विकास गरिरहेको भारत स्वच्छ र हरित ऊर्जामा आधारित भविष्यतर्फ ठूला कदम चालिरहेको छ । भारतले सन् २०७० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको छ । यो लक्ष्य प्रधानमन्त्री मोदीले कोप-२६ सम्मेलनमा प्रस्तुत गरेका थिए । त्यस दिशातर्फ भारतले महत्त्वपूर्ण कदम चालेको समाचारमा उल्लेख छ ।
भारतमै सैन्य जहाज सी-२९५ निर्माण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत अक्टोबर अन्तिम साता गुजरातमा सी-२९५ सैन्य विमान निर्माण हुने टाटा कम्प्लेक्सको उद्घाटन गरेका थिए । प्रधानमन्त्री मोदीले स्पेनका समकक्षी पेड्रो सान्चेजसँग मिलेर गुजरातको टाटा एयरक्राफ्ट कम्प्लेक्सको उद्घाटन गरेका थिए ।
यो कम्प्लेक्स टाटा एड्भान्स्ड सिस्टम्स लिमिटेड क्याम्पसमा निर्माण गरिएको हो । सी-२९५ कार्यक्रमअन्तर्गत जम्मा ५६ वटा जहाज निर्माण गरिनेछन्, जसमा १६ स्पेनबाट आयात गरिनेछन् भने बाँकी ४० वटा भारतमै निर्माण गरिने छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सी-२९५ विमान निर्माणका लागि टाटा एयरक्राफ्ट कम्प्लेक्सले भारत र स्पेनबीचको सम्बन्धलाई मात्र सुदृढ नगरी 'मेक इन इण्डिया, मेक फर द वर्ल्ड' अभियानलाई पनि गति दिने बताएका थिए ।
मोदीले सी-२९५ विमानको यो कारखाना नयाँ भारतको नयाँ कार्यसंस्कृतिको प्रतिबिम्ब भएको उल्लेख गरेका थिए ।
भारतीय वायुसेनाले यसअघि नै आफ्नो पुरानो 'एभ्रो बेडा' प्रतिस्थापन गर्दै ५६ एयरबस सी२९५ विमान सञ्चालन गर्ने औपचारिक निर्णय गरिसकेको छ ।
टाटा समूहसँगै यस कार्यक्रममा भारत इलेक्ट्रोनिक्स लिमिटेड र भारत डायनामिक्स लिमिटेड जस्ता प्रमुख सार्वजनिक एकाइसँगै, निजी क्षेत्रका साना र मध्यम उद्योगहरू पनि सहभागी हुनेछन् ।
प्रविधिको क्षेत्रमा भारतले तीव्र प्रगति गर्दै ठूलो फड्को मारिरहेको यसले देखाउँछ । विशेषगरी डिजिटल सेवामा भारतको योगदानले विश्वलाई नै प्रभावित गरेको छ । 'डिजिटल इण्डिया' अभियानअन्तर्गत ग्रामीण र शहरी दुवै क्षेत्रमा डिजिटल पहुँच वृद्धि भएको भारतीय सञ्चार माध्यमहरूले समाचारमा उल्लेख गरेका छन् । जसले आम नागरिकलाई प्रविधिसँग पहिचान गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
अन्तरिक्ष क्षेत्रमा भारतको इसरोले चन्द्रयान-३ र गगनयान परियोजनामार्फत भारतलाई विश्वस्तरमा फड्को मार्न सहयोग गरेको छ ।
हरित ऊर्जा र नवीकरणीय ऊर्जाका क्षेत्रमा भारतले ठूला परियोजना शुरू गरेको छ । हरित हाइड्रोजन, सौर्य ऊर्जा र हावाबाट उत्पादन हुने ऊर्जामा भारतले गरेको लगानीले देशलाई स्वच्छ ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन सघाइरहेको समाचारमा उल्लेख छ ।