
सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ, लेखा समितिका सभापति एवं एमाले सांसद ऋषिकेश पोखरेल र राप्रपा सांसद गीता बस्नेतमाथि कारबाहीको माग चौतर्फी रूपमा उठेको छ ।
सहकारी ठगीसम्बन्धमा छानबिन गर्न बनेको विशेष संसदीय समितिले धनराजको नामै किटेर सहकारी ठगीमा उनको संलग्नताको बारेमा प्रस्ट खुलाएको छ ।
ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक ज्योति गुरुङ संस्थाको १४ करोड ८१ लाख ६३ हजार ४१८ रुपैयाँ ठगेर २०७६ माघ १८ गतेदेखि फरार छिन् । उनी धनराजकी पूर्व श्रीमती हुन् ।
अमेरिकामा लुकेको आशंकामा प्रहरीले ज्योतिविरुद्ध रेड नोटिस जारी गरिसकेको छ ।
सहकारीबाट ठगेको रकम पचाउन ज्योतिले धनराजसँग २०७६ फागुन २९ गते सम्बन्धविच्छेदको ‘नाटक’ गरेको पीडित पक्षको आरोप छ ।
मितेरी सहकारीको प्रबन्धक ज्योतिले नै करिब १५ करोड ठगेर भागेको भन्दै अध्यक्ष कुम्भराज गुरुङले सहकारी छानबिन विशेष समितिमा उजुरी दिएका थिए ।
समितिले अध्यक्ष गुरुङलाई बोलाएर बयान समेत लिएको थियो । मितेरीमा समितिले अनुगमन समेत गरेको थियो ।
समितिको प्रतिवेदनमा धनराज र उनले सम्बन्धविच्छेद गरेको भनिएकी ज्योतिले मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीका आधारमा कारबाही गर्न सुझाव दिइएको छ ।
२०७६ फागुन २९ गते सम्बन्धविच्छेद गरेको दाबी गरेका धनराजले मितेरी सहकारीबाट २०७७ माघ २० गते पनि १८ लाख १० हजार रुपैयाँ कर्जा लिएका थिए । कर्जामा हकवालाको नाम ज्योति गुरुङ रहेको छ भने नातामा श्रीमती भन्ने उल्लेख गरिएको छ ।
धनराजले सहकारीबाट २०७७ साल फागुन ३ गते १२ लाख रुपैयाँ कर्जा लिएका थिए । त्यसमा पनि हकवालाको नाम ज्योति गुरुङ र नातामा श्रीमती भन्ने उल्लेख गरेको भेटिएको छ । यसले पनि धनराजले श्रीमतीसँग सम्बन्धबिच्छेद सहकारीको पैसा नतिर्नकै लागि गरेको पुष्टि हुन्छ ।
धनराज उक्त सहकारीमा २०५८ साल कात्तिक ११ गते शेयरधनी बनेका थिए । संस्थामा उनको ३४ हजार ३३३ रुपैयाँको सेयर स्वामित्व छ । धनराजकी पूर्वश्रीमती भनिएकी ज्योति २०७६ फागुन १२ गतेदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा छिन् ।
मितेरी सहकारीका बचतकर्ताको रकम अपचलन र ठगीको मुद्दा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हेरिरहेको छ । सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार धनराजले मितेरीबाट ८४ लाख रुपैयाँ ऋण लिएको र ब्याज समेत गरी ९६ लाख तिरिसकेको देखिन्छ । ती अधिकृतले भने, ‘हामीले बाहिर आएको आरोपभन्दा पनि प्रमाणले ठगी गरेको पुष्टि हुन्छ कि हुँदैन भनेर तथ्यगत रूपमा अनुसन्धान अगाडि बढाएका छौं । अहिलेसम्म धनराजले ऋण तिरिसकेको देखिन्छ, थप अनुसन्धन हुँदैछ ।’
नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले सहकारी ठगी प्रकरणमा जोडिएका व्यक्तिलाई राजनीतिक आस्थाले हेर्न नहुने बताए ।
उनले भने, ‘संसदीय छानबिन समितिले कारबाही गर भनेका व्यक्तिलाई राजनीतिक शक्तिका आडमा उन्मुक्ति दिने काम राम्रो होइन, यसले दण्डहीनता बढाउँछ, प्रमाणले पुष्टि हुन्छ भने कारबाही गर्नुपर्छ ।’
सीआईबीले शुक्रबार मितेरीका अध्यक्ष कुम्भराजलाई बोलाएर सोधपुछ गरेको छ । सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीले सहकारी ठगीमा धनराजको संलग्नताबारे अनुसन्धान भइरहेको लोकान्तरलाई बताए ।
उनले भने, ‘मितेरीका अध्यक्षसहित पदाधिकारीलाई बोलाएर सोधपुछ गर्ने काम भइरहेको छ । धनराजको सम्बन्धमा प्रमाणबाट पुष्टि गर्न कागजात संकलनको कार्य भइरहेको छ ।’
ऋषिकेशबारे एमाले किन मौन ?
लेखासमितिका सभापति ऋषिकेश पोखरेल जोडिएको मोरङस्थित धनपालथान गाउँपालिका– ४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको करिब १२ करोड रकम पनि ठगी भएको छ ।
पोखरेलपत्नी अञ्जला कोइराला (पोखरेल) तत्कालीन समयमा सहकारी सञ्चालक रहेकी थिइन् ।
लघुवित्तमा २ करोड ऋण माग्न सहकारीले २०७७ असोज २३ मा राखेको सञ्चालक समिति बैठकमा सञ्चालकको हैसियतले उनले हस्ताक्षर गरेकी छिन् ।
आरएसडीसी लघुवित्तबाट २ करोड ऋण लिने निर्णय पास गर्ने क्रममा अञ्जलाले हस्ताक्षर गरेको पाइएको छ ।
शिक्षण पेशामा रहेकी अञ्जलालाई सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले नै सहकारीमा बस्न भनेका थिए । उनै शम्भुप्रसाद र ऋषिकेशको मिलेमतोमा सहकारीको रकम अपचलन भएको स्रोत बताउँछ ।
कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा ऋषिकेशकी श्रीमती अञ्जलाविरुद्ध उजुरी परेको छ । उजुरी परेपछि कार्यालयले अनुसन्धानका लागि प्रहरीलाई लेखी पठाएको छ । अनुसन्धानका क्रममा ऋषिकेशको नाम समेत जोडिएको छ । सत्ताको प्रमुख घटक नेकपा एमाले ऋषिकेशको सवालमा मौनजस्तै छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमोरियाले सहकारीमा छापा मारेर केही डकुमेन्ट बरामद गरिएको बताए ।
उनले लोकान्तरसँग भने, ‘हामी प्रमाण संकलनमै छौं । सहकारी डिभिजन कार्यालयसँग कागजात मागेका छौं । अहिले कसैलाई पनि पक्राउ गरिएको छैन । प्रमाण संकलनपछि थप अनुसन्धान गर्छौं ।’
कहाँ छिन् गीता बस्नेत ?
नवलपरासीको कावासोतीमा रहेको छिपछिपे सहकारी संस्थाको १६ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको प्रकरणमा राप्रपा सांसद गीता बस्नेत जोडिएकी छिन् । गीतासहित ३५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।
सर्वसाधारणको बचत रकम अपचलन गर्ने सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मा, व्यवस्थापक योगेन्द्र पाण्डे, पूर्वसचिव नगेन्द्रबहादुर रिमाल, सांसद गीतासहित ३५ जनालाई विपक्षी बनाइएको छ ।
सरकारी वकिल कार्यालयले हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ असुलउपर, त्यसको हर्जाना र कैद सजाय माग दाबी लिएको छ ।
छिपछिपेमा अघिल्लो कार्यकाल गीताकै ज्वाइँ नाता पर्ने नगेन्द्र रिमालले विनाधितो ९६ लाख रुपैयाँ बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा लगानी गरेका थिए ।
रिसोर्टकी अध्यक्ष गीता भएकै कारण उनीविरुद्ध पनि सहकारीको रकम हिनामिना र ठगी अपराधमा मुद्दा दर्ता भएको थियो । सहकारीका शेयर सदस्य र नियमित वचतकर्ताबाहेक अन्यलाई ऋण दिन नपाइने सहकारी ऐनमा व्यवस्था छ । तर, शेयर सदस्य नै नरहेको कृष्णसार रिसोर्टमा सोझै ९६ लाख रुपैयाँ लगानीका लागि लगिएको थियो । मुद्दा दर्ता हुनु अघिदेखि नै गीता फरार छिन् ।