
निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी-ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ।
निर्माण कम्पनीको सुस्त कामका कारण गति लिन नसकेको आयोजनाले आरोप लगाउने गरेको छ। आयोजनाले पनि एक/दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ। सडक अलपत्र पर्दा याममा ढोरपाटन हिँडेका पर्यटकले सास्ती खेप्दै आएका छन्।
अझैपनि बागलुङभित्रको ६१ किमिमध्ये अधिकांश ट्र्याक मात्रै खुलेको छ। त्यो पनि यसअघि नै ग्रामीण सडकको रुपमा खुलेको खण्डमा त परिवर्तन नै भएको छैन। जिल्लाभित्रको ६१ किमि सडकमध्ये बुर्तिबाङदेखि ढोरपाटन पुग्ने सडकभित्रको पनि २२ किमि खण्डको ठेक्का अलपत्र छ।
बुर्तिबाङ-फल्लेघर ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्ध संयुक्त निर्माण कम्पनीले तोकिएको समयमा ३० प्रतिशत मात्रै काम गरेर अलपत्र पारेको हो। तोकिएको समय सकेर थपिएको समयमा पनि कुनै प्रगति नभएको सालझण्डी ढोरपाटन सडक आयोजनाका प्रमुख गागलबहादुर भण्डारीले बताए।
त्यसबाहेकको खण्डमा त झनै काम भएको छैन। खुलेको ट्र्याकसमेत समयमा मर्मत नहुँदा वर्षातमा खसेका पहिरो त्यतिकै छ। निसीखोला तर्फको खण्डमा सडकको कामै नहुँदा गाउँपालिकाका जनप्रतिनिधिसमेत आक्रोसित छन्।
२०६५ मा ट्र्याक खुलाउने काम भएपनि त्यसयता अधिकांश खण्ड अलपत्र छ। फलेघरतर्फको भने २०७८ को कात्तिकमा ठेक्का लागेको थियो। २०८१ को वैशाख ४ गते पूरा गर्ने लक्ष्यमा पटक–पटक म्याद थपेर पनि ३० प्रतिशत मात्रै काम भएको हो। त्यो पनि संरक्षण नभएर सबै भत्केको छ। चिप्लो र खाल्डैखाल्डा भएकाले यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन्।
२५ करोड ६१ लाख रूपैयाँमा ठेक्का लिएकोमा अहिलेसम्म वित्तीय प्रगति पनि ३० प्रतिशतमाथि जान सकेको छैन। ठेकेदारले आगामी पुस मसान्तका लागि थप गरेको समयमा पनि प्रगति शून्य भएपछि उक्त ठेक्का तोड्नुपर्ने अवस्था आएको भण्डारीले बताए।
आगामी असार मसान्तभित्र सक्ने भरपर्दो आधार नपाएमा ठेक्का रद्ध गरेर नयाँ प्रक्रियामा जानैपर्ने अवस्था रहेको उनले बताए। जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले सडक अलपत्र पर्दा पर्यटक फर्केको र जिल्लाको राजस्व सङ्कलनमासमेत असर परेको बताए।
सडक अप्ठ्यारो भएकै कारण ढोरपाटनका गर्भवती, सुत्केरीहरूले समयमा उपचार पाउन नसकेको, नेपाली सेना र आरक्ष कार्यालयको रासन ढुवानीमासमेत असर परेको छ। यो सडक अलपत्र परेपछि आयोजनाले समयमा काम गर्न ताकेता गर्दै अहिलेसम्म ठेकेदार कम्पनीलाई १० पटक पत्राचार गरेको छ। दुई पटक बैठक बसेर बोलाइएको थियो।
आयोजनाको पत्राचारको समेत बेवास्ता गरेपछि ठेकेदार कम्पनीको तीन करोड ५६ लाख रूपैयाँ बैंक जमानत पनि रोक्का गरिएको छ।
लुम्बिनीमा आएका पर्यटकलाई ढोरपापटनसम्म लैजान सहज हुने उद्देश्यले यो सडक निर्माण थालिएको थियो। कूल १९७ किमि लामो सडकको अहिलेसम्म अर्घाखाँचीको १८ किमि मात्रै कालोपत्रे भएको छ। सडक मर्मत नभएकै कारण ढुवानी समस्याले ढोरपाटनका किसानले फलाएको आलुसमेत समयमा बजार पठाउन सकेका छैनन्।